अछाममा दुई किशोरीको मृत्यु प्रकरण : २ जना किशोर पक्राउ
थानकोट ।
अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्।
आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो।
ढकारी-१ को छिन्ने जंगलमा शनिबार साँझ ढकारी गाउँपालिका-८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का मृत फेला परेका थिए।
टाउको र शरीरभर चोट लागेको अवस्थामा दुवैको शव २० मिटर आसपास फेला परेको थियो। उनीहरू शुक्रबार नै बाख्रा चराउन भनी जंगल गएका थिए।
पक्राउ परेका दुवै १८ वर्षभन्दा मुनिका रहेकाले पहिचान खुलाइएको छैन्। किशोरीसँगै उनीहरू गोठालो गएको प्रहरी स्रोतले बतायो।
डिएसपी ईश्वरी भण्डारीले अहिलेसम्म घटनाको प्रकृतिबारे भन्न नसकिने बताए। ‘बलात्कार हो, हत्या हो केही भन्न सकिँदैन, पोस्टमार्टम रिपोर्ट आएपछि भन्न सकिन्छ,’ भण्डारीले भने, ‘पोस्टमार्टमका लागि शव नेपालगञ्ज पठाइएको छ।’
जंगल गएका किशोरी एक दिनसम्म नआएपछि शंका लागेर स्थानीय खोजीमा निस्किँदा शव फेला पारेका थिए।
घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। किशोरीका परिवारले घटना शंकास्पद रहेको भन्दै गहिरो अनुसन्धान गर्न माग गरेका छन्।
किशोरीको शव भेटिएको माथिपट्टी भीर छ। माथिपट्टी भीरबाट ढुंगा झरेको देखिएको छ।