टाईगर कप भलिबलः चन्द्रागिरिको न्यू डायमण्डले आज र एपीएफको सामना गर्दै
थानकोट ।
पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ न्यू डायमण्डले आज र एपीएफको सामना गर्दैछ ।
शनिबारबाट सुरु भएको पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा चन्द्रागिरि नगरपालिका नैकापस्थित न्यू डायमन्ड स्पोर्ट्स क्लबले विजयी सुरुवात गरेको थियो। न्यू डायमन्ड स्पोर्ट्स क्लबले पहिलो खेलमा नेपाल पुलिसको चुनाैती पन्छाएको थियो ।
सशस्त्र प्रहरी बल (एपीएफ) ले भने पहिलो खेलमा ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डमाथि जित दर्ता गरेको थियो ।
टाइगर ग्रुप अफ पोखराको आयोजनामा भइरहेको प्रतियोगिता माघ १९ सम्म चल्नेछ, प्रतियोगिता अन्तर्गतका खेलहरू पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भइरहेका हुन् ।
प्रतियोगितामा २ विदेशीसहित महिला र पुरुषमा समान ६ टोलीको सहभागिता रहेको छ ।
विदेशी टोलीमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् ।
महिलातर्फ अन्य टोलीमा नेपाल एपीएफ क्लब, टिप टप न्यू डायमन्ड स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । यस्तै पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब रहेका छन् ।
प्रतियोगिताका दुवैतर्फको विजेता टोलीले समान ५ लाख ८५ हजार ५ सय ५५, दोश्रोले समान २ लाख ८५ हजार ५ सय ५५ र तेश्रो हुने टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले समान १० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्।