ठगीका ‘मास्टरमाइन्ड’ले सतुङ्गलका एक व्यक्तिबाट गाडीको बैना भन्दै ९ लाख ७५ हजार ठगे

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले ठगीसम्बन्धी कसुरमा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । 

कार्यालयले नुवाकोट जिल्ला ककनी गापा २ घर भई हाल काठमाडौं महानगरपालिका १६ बस्ने कुशल ठकुरी भन्ने दिनेश घिमिरेलाई पक्राउ गरेको छ । 

निजमाथि विभिन्न व्यक्तिहरूलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा आएका सुन, एप्पलको आईफोन र भन्सारका लिलाम हुने स्कार्पियो, क्रेटालगायत गाडी सस्तोमा दिलाइदिने भन्दै ठगी गरेको अभियोग छ । 

आफ्नो तथा आफूले भनेका बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरी फरार रहेकोमा निजमाथि ०८१ असोज २० गते काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी समेत जारी भएको थियो । 

घिमिरेलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गत मंगलबार राति १० बजे ठमेलबाट पक्राउ गरेको हो ।  

निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

काठमाडौं उपत्यका प्रहरी कार्यालयले लामो प्रयासपछि घिमिरेलाई ठमेलबाट नियन्त्रणमा लिन सफल भएको हो । उनलाई पक्रिन एक पीडित युवतीको सहारा लिनुपरेको थियो । 

घिमिरेको ठगीको निशानामा प्रहरी, डाक्टर, चिया पसलेदेखि पठाओ राइडरसमेत परेका थिए ।

आफूलाई भन्सारको कर्मचारी बताउँदै आएका उनले कसैलाई सस्तोमा सुन मिलाइदिन्छु भन्दै त कसैलाई गाडी मिलाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठग्ने गरेका थिए ।

घिमिरेले ‘भन्सारबाट सस्तोमा गाडी लिलाम हुँदैछ । पेश्कीबापत १० लाखमा दिनुस्, ३० लाखमा नयाँ स्कोर्पियो मिलाइदिन्छु’ भन्दै ९ लाख ४९ हजार रुपैयाँ ठगेको उजुरी प्रहरीमा परेको छ । 

उनले चन्द्रागिरि नगरपालिका– ११ बस्ने श्रेष्ठ थरका एक व्यक्तिबाट घिमिरेले गाडीको बैना भन्दै ९ लाख ७५ हजार ठगेका थिए । 

लोकान्तरबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *