प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई (फोटो फिचर)

Thankot Times

थानकोट ।

कैलालीमा सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डिफेण्डिङ च्याम्पियन एपीएफले जितेको छ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य लक्ष्य एपीएफले ४३ बल बाँकी छँदै एक विकेट गुमाएर पूरा गरेको हो।

उसका लागि ममता चौधरीले सर्वाधिक ४३ र इन्दु बर्माले १८ रनको योगदान गरिन्। यसअघि प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम प्रदेश ११ बल बाँकी छँदै ६७ रनमा समेटिएको थियो ।

उसका लागि मनिषा बोहराले आउट नभइ सर्वाधिक १८ रन बनाइन् भने कप्तान बिन्दु रावलले १७ रनको योगदान गरिन् । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । तीन खेलाडी शून्य र तीन खेलाडी एक रनमा आउट भएका थिए । सुदूरपश्चिमलाई सस्तैमा समेट्न एपीएफकी कविता जोशीले ३, सबनम राई र इन्दु बर्माले समान २/२ विकेट लिँदा करुणा भण्डारीले एक विकेट खसालिन् ।

सुपर फोरको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ३० रनले र एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । प्रतियोगिताको उपाधि विजेता एपीएफले नगद ५ लाख रुपैयाँ र उपविजेता सुदूरपश्चिम प्रदेशले ३ लाख पुरस्कार पाएका छन्।

सबै तस्बिरः क्यान


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ