भारतको महाराष्ट्रमा रेल दुर्घटना प्रकरणः मृत्यु भएका ७ जना नेपालीको सनाखत
थानकोट ।
भारतमा भएको रेल दुर्घटनामा मृत्यु भएका ७ नेपालीको सनाखत भएको छ ।
परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।
मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राध रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै दुर्घटनामा थप ४ जना नेपाली घाइते समेत भएका छन् ।
घाइतेमध्ये ४ जनाको स्थानीय अस्पताल र १ जनाको गम्भीर अवस्थामा जलगाउँस्थित गोदावरी अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचार गर्नका लागि मन्त्रालयले दिल्लीस्थित दूतावास तथा काठमाडौँस्थित भारतीय दूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवम् सहजीकरण गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।
माघ ९ गते साँझ महाराष्ट्र राज्यको जलगाउँ जिल्लास्थित भरधाडे स्टेसननजिकै रेल दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा नेपालीबाहेक अन्य ५ जनाको पनि मृत्यु भएको थियो ।