गुरूज्यूको धारानजिकै रेल, रोपवे अनि थानकोटमा मानिसको काँधमा कार देख्दा छक्क परें….

Thankot Times

थानकोट ।

………विस्तारै हामीले शहरलाई पछाडि छोड्यौं र रमणीय ग्रामीण क्षेत्रबाट अगाडि बढ्न लाग्यौं ।

जसै हामी एक डाँडामाथि पुग्यौं, मैले तल रेल देखे जस्तो लाग्यो । तर फेरि भ्रम होला भनेर सोचें। किनकि यस्तो पहाडी भेगमा मोटर बस्ने त बाटो छैन भने रेल आउने कुरा असम्भव थियो। तर अकस्मात् मैले बाफको इन्जिनबाट निस्कने जस्तै धुवां देखें । मलाई उपत्यकामा रेल रहेछ भन्ने नै पन्यो, तर विश्वास अझै पनि भैरहेको थिएन । त्यसैले रेल छ कि छैन भनेर श्री राणासँग सोध्ने इच्छा भयो । त्यसैले हिच्किचाउँदै मैले “कार, बस र ट्रक त देखें, के रेल पनि छ ?” भनेर सोधें ।

करिब ९० वर्षअघि नै चन्द्रागिरिमा चल्थ्यो रेल !

“हो, चारवटा डिब्बा भएको रेल छ ।”

“कृपया, भएको कुरा बोल्नोस् न, तपाईंले ठट्टा गरेको हुनुपर्छ ।”

“होइन, मैले ठट्टा गरेको होइन, वास्तवमै यहाँ रेल छ र चलिरहेको पनि छ ।”

“त्यसो भए मलाई देखाउनुस् न त !”

“स्टेशन बाटोमै पर्ने हुँदा तपाई आफैं देख्नु हुनेछ ।”

अचानक उहाँले गाडी बायाँतर्फ मोड्नुभयो । झिंगटी र जस्ताको छाना भएका घरहरू भएको ठाउँमा पुगेपछि गाडी रोक्दै श्री राणाले भन्नुभयो- “यो स्टेशन हो।” गाडीबाट बाहिर निस्केर उहाँले भन्नुभयो- “हामी जहाँबाट बायाँ मोडिएका थियौ, त्यस ठाउँलाई गुरुजुधारा भन्छन् ।”

त्यसै बेला चारओटा डिब्बासहितको चिटिक्क परेको एउटा सानो रेल स्टेशनतर्फ आइरहेको देखें। शायद मलाई रेल हो कि भनेर भान पार्ने यही रहेछ, किनभने यो हामी आएकै दिशातिरबाट आइरहेको थियो । हामी एउटा घरतिर लागिरहेका थियौं कि त्यसै घरबाट निस्किरहेका एकजना मानिसलाई देखाएर श्री राणाले “उहाँ स्टेशन मास्टर श्री जोशी हुनुहुन्छ” भनेर चिनाइदिनुको साथै मेरो परिचय पनि दिनुभयो ।

“काठमाडौंमा पनि रेल छ भन्ने वास्तविकता मेरो सोचाइ र बुझाइभन्दा धेरै टाढाको कुरा थियो” मैले वास्तवमै आश्चर्य मानेर भनें ।

“रेल त यहाँ धेरै पहिलेदेखि नै थियो । पहिले यसलाई मानिसले तान्थे, पछि ‘बयल’ ले र केही वर्ष यतादेखि इन्जिनले तान्न थालेको हो” जोशीले भने ।

स्टेशनको एउटा छेउभित्र रुपलाइन (रोप-वे) पसिरहेको देखे । “यो कहाँबाट आएको हो ?”

जोशीले पहाडको टुप्पातिर देखाए, जहाँबाट अरू पनि थुप्रै त्यस्तै ‘कन्टेनर’ आइरहेका थिए । “तराईतिरबाट आउने मोटर सडक नभए‌को हुँदा यसैको माध्यमबाट उपत्यकाका लागि आवश्यक सामानहरू भित्र्याइन्छ । त्यसपछि यहाँबाट रेलमा राखेर करीब चार माइल टाढाको टेकुदोभान स्टेशनमा पुऱ्याइन्छ जोशीले भने ।

नेपाल आएदेखि आफ्नै आँखाले देखेको र कानले सुनेको कुरा पनि पत्याउन गान्दो भइरहेको छ । मैले जोशीलाई सम्बोधन गर्दै सोधे- “श्री राणाको पत्याउन कसरी ल्याइँदो रहेछ भन्ने देखेपछि मलाई रेलमा चढेर काठमाडौ जाने व्यवस्था मिलाइदिन हुन्छ ?”

“अवश्य ।”

“म कार लिन आएको, काठमाडौमा कार कसरी आइपुग्छ भन्ने दृश्य देखाउन मैले उहांलाई यहाँ ल्याएको हुँ, त्यो हेरिसकेपछि उहाँको रेल चढ्ने रहर पुऱ्याइदिनु भए हुन्छ ।”

जोशीले चियाको निम्ता दिनुभयो । तर श्री राणाले धन्यवाद दिंदै भन्नुभयो- “उहाँलाई त्यो दृश्य देखाउनैपर्ने भएकोले हामीसंग चियामा अल्मलिने समय छैन, त्यसैले हामी गइहाल्छौं ।”

हिँड्दाहिँड्दै जोशीलाई मैले भनें- “रेल चढ्न म फर्केर आउने छु।” “म तपाईको प्रतीक्षामा हुनेछु। हामी संगै यात्रा गरौंला ।”

एक घण्टा जति कारको सफरपछि हामी ठाडो उकालो चढेर थुप्रै घरहरू भएको समथर ठाउँमा पुग्यौं। श्री राणाले कार रोक्नुभयो र ठाउँको बारेमा जानकारी दिदै भन्नुभयो, – “यसलाई पानीघाट भन्दछन् । यही ठाउँसम्म कारहरू बोकेर ल्याइन्छन् । त्यसपछि मिस्त्रीहरूलाई जाँच गराई चलाएर काठमाडौं लैजान्छन् ।”

मैले तलतिर एउटा बाक्लो बस्ती देखेर त्यो ठाउँको बारेमा सोधे। श्री राणाले जवाफमा भन्नुभयो- “त्यो थानकोट हो ।”

हामी कारबाट निस्क्यौं । त्यहाँ उपस्थित एकजना मानिसले हामीलाई आदरपूर्वक नमस्ते गरे । ती सरकारी अधिकृतजस्ता देखिन्थे। उनले श्री राणासँग केही कुरा गरे। श्री राणाले उनलाई कागजपत्र देखाउनुभयो । उनी गएपछि श्री राणाले मतिर हेर्नुभयो र “भोक लागेको छ ?” भनेर सोध्नुभयो ।

“यति धेरै रमाइला चिजहरू हेर्न पाउँदा भोक भन्ने महसूस भएकै थिएन, तर तपाईले सोध्नेबित्तिकै म कति भोकाएको रहेछु थाहा भयो ।”

खानाका निम्ति ती अधिकृतले हामीलाई दुईतले एउटा घरमा लगे । घर सफा र सुग्घर थियो। हामी घरको परिसरमा पस्दै थियौं कि कसैले मेचहरू ल्याइदियो । श्री राणाको ध्यान भने पहाडको एउटा ओरालो बाटोतिर रहेछ । उहाँले मलाई पनि त्यसतर्फ देखाउँदै भन्नुभयो “कार लिएर आउने बाटो त्यही हो ।”

म श्री राणाले देखाएको बाटोतर्फ हेर्दै थिएँ । त्यही बेलामा एकजनाले एक बाल्टी पानी र रुमाल ल्याइदियो । हामी हातमुख धोएर ताजा भयौ। खाना तयार थियो, हामी खान लाग्यौ । खानामा भात, कुखुराको मासु र खुर्सानी जस्तो देखिने रातो केही थियो । मेरो पछिल्लो अनुभव सम्झेर मैले त्यो खाइन ।

स्वादिष्ट खाना र केही बेरको आरामपछि श्री राणाले भन्नुभयो- “आउनुस्, अलिकति उकालोतिर लागौ, कार ल्याइरहेका मानिसहरू भेटिन्छन् कि “

जंगलको बाटोबाट आधा घण्टा जति हिँडेपछि अचानक मानिसहरू कराएको सुन्यौ । श्री राणा र म दुवैलाई कार हेर्ने अत्यन्त उत्सुकता थियो। त्यसैले हामी आवाज आएतिर हतारिएर लाग्यौं। एउटा घुम्ती घुमेपछि मानिसहरूले बोकेर त्याउँदै गरेको कार देख्यौ । तिनीहरूले हामीलाई देखेरै कारलाई भूइँमा बिसाए ।

कारको निरीक्षण गर्दै श्री राणा वरिपरि घुम्नुभयो । म पनि उहांको पछि-पछि लागें । एकजना मानिस शायद कुल्लीको नाइके थियो, कुरा गर्दै उहाँको पछि लाग्यो । सम्भवतः ऊ कार ल्याउँदाको अनुभव बताउँदै थियो ।

“कारको अवस्था राम्रो हुनुपर्दछ । कतै पनि कोतरिएको, कुच्चिएको वा दाग लागेको हुनु हुँदैन । त्यसरी ल्यायौ भने म इनाम दिन्छु भनेर कुल्लीको नाइकेलाई भनेको थिएँ । यिनीहरूले कारलाई मैले भने बमोजिम नै ल्याइपुऱ्याएका छन् । त्यसैले म सान्है खुशी छु । साँघुरो र पहाडी गोरेटोमा कैयौ दिन बोक्दा पनि एउटा सानो दाग पनि लाग्न नदिनु सानो कुरा होइन, यो कल्पनाभन्दा बाहिरको कुरा हो । त्यसैले यिनीहरूले अत्युत्तम काम गरेका छन् । उनीहरूको यो उच्च परिश्रमका लागि म उनीहरूलाई रमाइलो गर्न केही रुपियाँ र दुई-चारवटा खसी दिँदैछु ।”

केही बेरको विश्रामपछि उनीहरूले पुनः कार उचाले । तर मैले कारमा पांग्रा देखिन र “पांग्राचाहिं खोई नि ?” भनेर सोधें ।

“पांग्रा कारभित्र छन् । पहाडको पल्लोपट्टि भीमफेदीसम्म कार चलाएर ल्याइन्छ । अनि पांग्रा झिकेर कारभित्र राखिन्छ ।”

ओरालोसम्म हामी पनि कारकै पछिपछि आयौं। केही समयपछि हामी दिवा-भोज गरेको ठाउँमा पुग्यौ । भारमुक्त भएकोमा लामो सुस्केरा हालेर कुल्लीहरूले कारलाई भूइँमा उतारेर डोरी फुकाउन थाले। मिस्त्रीले कारको इन्जन, गियर र अरू उपकरणहरू जाँची रहँदा उसको सहायकले कारका पाग्राहरू फिट गरिसकेको थियो । निरीक्षणबाट सन्तुष्ट भएपछि मिस्त्री भित्र पसेर कार स्टार्ट गर्यो । उसले अलि बेरसम्म इञ्जन चलायो र कारको ब्रेक, बत्ती, शिशाको पानी पुछ्ने र हर्न जाँच्दै वरिपरि घुमायो । निरीक्षणबाट सन्तुष्ट भएपछि उसले श्री राणासामु ल्याएर कार रोक्यो। केही क्षण दुवैले का गरेपछि श्री राणाले कुल्लीका नाइकेलाई बोलाएर उसलाई केही रकम दिनुभयो । नाइकेले कुल्लीहरूलाई केही भन्यो । सबै हाँस्न- केराउन लागे । सबै खुशी देखिन्थे ।

श्री राणा र म नयाँ कारमा बस्यौ र काठमाडौंतर्फ लाग्यौ । पुरानो कार पछिपछि आयो । रेल्वे स्टेशनको लागि बाटो छुट्टिने ठाउँ गुर्जुधारामा पुगेपछि श्री राणाले “के साँच्चै नै रेल चढेर काठमाडौं जाने हो ? भनेर सोध्नुभयो ।

“निश्चय नै ।” मेरो जवाफ पाएपछि आफ्नो ड्राइभरलाई बोलाएर उहाँले केही अर्हाउनुभयो र मलाई अर्को कारमा बस्न भन्नुभयो। मैले उहाँलाई यावत् कुराहरूको लागि धन्यवाद दिएँ, कार फेरें अनि रेल्वे स्टेशन पुगे ।

मलाई देखेर जोशी मेरो नजिक आउनुभयो ।

“हामीसँगै काठमाडौं जाने भनेर मैले रेल रोकिराखेको छु ।” हामी दुवैजना ड्राइभरको पछाडि बस्यौं ।

धानखेतहरूको बीचबाट रेल अगाडि बढ्दा केही कृषकहरू खेतमा काम गरिरहेका देखिन्थे । खेतमा अनेक थरीका ‘बुख्याचा’ हरू देखेर मलाई रमाइलो लाग्यो । केही मानिसहरूले खाल्डो खनेर कालो माटो झिकिरहेको पनि देखियो ।

“जोशीजी ! तिनीहरूले खाल्डो खनेर कालो माटो किन झिकेका? त्यसलाई के गर्दछन् ?”

“यो मलिलो माटो हो। यो सुकेपछि मलको रूपमा छरिन्छ ।”

अस्ताउन लागेका सूर्यका किरणहरूले हिमालहरूलाई रातो बनाएर रगाइदिएका थिए । काठमाडौं र हिमालको दृश्य यति रोचक र मनमोहक लाग्यो कि विश्वासै गर्न गाहो थियो । यसरी मनमोहक दृश्यहरूमा हराएकोले हामी काठमाडौंको टेकुदोभान स्टेशन कतिखेर आइपुग्यौं, पत्तै भएन । त्यहाँ पुग्दा रात परिसकेको थियो । स्टेशनमा श्री राणाको ड्राइभर कारसहित मलाई पर्खिरहेका थिए । अविस्मरणीय रेलयात्रा गराएकोमा जोशीलाई धन्यवाद दिदै म विदा भएँ ।

रात्रिभोजनको क्रममा टम र पाइलटहरूलाई दिनभरिको रमाइलो अनुभव सुनाउँदा उनीहरू सबै आश्चर्यचकित हुन पुगे। रेल यात्राको त के कुरा, तीमध्ये कसैले पनि कार बोकेर ल्याएको देखेका रहेनछन् ।

मेरो कुरा सुनेर उनीहरू दंग परेका थिए ।

“कुनै दिन, हामी पनि तपाईले हासिल गर्नुभएको रमाइलो अनुभव प्राप्त गर्ने प्रयत्न अवश्य गर्नेछौं” उनीहरू सबैले एकै स्वरमा भने ।

“म त अति थाकेको छु, त्यसैले सुत्न जाने अनुमति चाहन्छु” भन्दै मैले उनीहरूसँग विदा मागें ।

“म, सिंढे नून हालेको एक बाल्टिन तातो पानी कोठामा पठाइदिउँला । तातो पानीमा खुट्टा डुबाउँदा तपाईको थकानलाई मेटिदिन्छ । प्रकाशले तपाईंलाई उसको बहिनीको विवाहमा दिएको ‘मूसःगु अय्ला’ (घरेलु रक्सी) अलिकति पिउनुहोस्। साथै दुखेको ठाउँमा पनि मालिस गर्नुहोला । बिहान उठ्दा तपाईले आफूलाई एकदमै फूर्तिलो महसूस गर्नु हुनेछ” टमले भने । मैले सुझावको लागि धन्यवाद दिएँ र ‘शुभरात्रि’ भन्दै विदा लिएँ ।…

 ज्ञानेन्द्र प्रसाद अधिकारी “हान्सन”को पुस्तक नेपालका सम्झनाहरूबाट साभार गरिएको सामाग्री


Leave a Reply

Your email address will not be published. Required fields are marked *