चन्द्रागिरिका करिब ६ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै, माघ २२ देखि २९ सम्म खोप अभियान

थानकोट ।
चन्द्रागिरि नगरका करिब ६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप लगाइने भएको छ ।
माघ २२ देखि २९ गतेसम्म किशोरीहरुलाई एचपिभी खोप लगाउने कार्यतालिका बनाइएको चन्द्रागिरि नगरको स्वास्थ्य शाखाले जनाएको छ ।
नगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भूकुमार महतोका अनुसार नगर क्षेत्रका सबै सामुदायिक, संस्थागत विद्यालयका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब ६ हजार २०८ किशोरीलाई एचपिभी खोप लगाइनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल देशव्यापी रुपमा माघ २२ गतेदेखि फागुन ६ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन गर्दैछ ।
भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा सो खोप अभियान सुरु हुन लागेको हो ।
एचपिभी खोप लगाउँदा एचपिभी सङ्क्रमणबाट हुने क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने बताइएको छ ।
उक्त खोप एक मात्रा लगाएपछि पुग्ने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको संक्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनुपर्ने महाशाखाको भनाइ छ ।
नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।
चन्द्रागिरि नगरपालिकामा एचपिभी खोप अभियानका लागि लक्षित गरि शुक्रबार नगरपालिका स्तरीय खोप समन्वय समितिको बैठक बसेको नगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भूकुमार महतोले बताए ।