नेपाली कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठक बस्दै
थानकोट ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट सरकारमा सहभागी सबै मन्त्रीहरूलाई छलफलका निम्ति बोलाएका छन् । देउवाले कांग्रेसतर्फका मन्त्रीहरूलाई आज बिहान ८ बजे बूढानीलकण्ठस्थित आफ्नो निवासमा बैठक राखेका हुन् ।
“सभापतिज्यूले कांग्रेसका सबै मन्त्रीलाई छलफलका लागि बोलाउनुभएको छ । मन्त्री भएपछि आफूले गरेको कामको प्रगति विवरण र सामना गर्नुपरेका समस्याहरू ब्रिफिङ गर्न बोलाउनुभएको हो,” सभापति देउवाका स्वकीयसचिव भानु देउवाले भने ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा कांग्रेसतर्फबाट आठ मन्त्री तथा ४ राज्य मन्त्री छन् । मन्त्रीहरूको कामका विषयमा जनगुनासो बढेपछि देउवाले छलफलका निम्ति बोलाएका हुन् ।
सो बैठकमा दलका कार्यसमितिमा रहेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुने जनाइएको छ ।