पार्टी सदस्यले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको भेटिए कारबाही हुन्छ : रास्वपा

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेमा पार्टी सदस्य संलग्न भएको पाइए कारबाही गर्ने जनाएको छ ।

“यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ,” रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

बुधबार काठमाडौं जिल्ला अदालत परिसरभित्र रास्वपा सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकेर बाहिरिने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि एक समूहले हातपात गरेको थियो ।

“पक्कै पनि यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनितिक दलको लागि स्वीकार्य छैन,” रास्वपाले भनेको छ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीले रविविरुद्धको मुद्दामा सहकारी पीडितको पक्षबाट बहस गरेका थिए ।

काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ