माइती नेपालमा प्रधानमन्त्री, एक करोड सहयोग गर्ने घोषणा

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको अक्षय कोषमा एक करोड सहयोग गर्ने घोषणा गरेका छन् ।

गौशालास्थित केन्द्रीय कार्यालयमा सोमबार स्थलगत अवलोकनपछि उनले सो रकम सहयोगको घोषणा गरेका हुन् ।

सरकारले नै गर्नुपर्ने काममा यस संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा प्रधानमन्त्रीले गरेको उनको सचिवालयले जनाएको छ ।

घोषणाअघि प्रधानमन्त्री ओलीले सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँगको छलफल गरेका थिए ।

माइती नेपाल चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत छ ।

प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गरेका थिए ।

उनले नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा सन्तोष व्यक्त गरे ।

अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले संस्थामा महिलाको उद्धार गरी ल्याइएका महिलाका लागि सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआईभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुुललगाययत स्थल पुुगेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ