नेपाल आयल निगमको थानकोट डिपो यथाशिघ्र सार्न उद्योग मन्त्री दामोदर भण्डारीको निर्देशन
थानकोट ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमको थानकोट डिपो यथाशिघ्र सार्न निर्देशन दिएका छन् ।
निगमको ५५ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा मन्त्री भण्डारीले बढी जोखिममा रहेका निगमका थानकोट डिपो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र धनगढी विमानस्थलको डिपो सार्ने काम चाँडो गर्न निगमलाई निर्देशन दिएका हुन् ।
पेट्रोलियम पदार्थको आयात, भण्डारण तथा बिक्री वितरण गर्न थानकोट डिपो २०५८ सालमा स्थापना गरिएको थियो। निगमले यहाँबाट काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका १० जिल्लाका एक सय ८० भन्दा बढी पेट्रोल पम्पमा इन्धन बिक्री, वितरण गर्दै आएको छ। चन्द्रागिरि नगरपालिका-०३ मा यो डिपो एक सय रोपनी क्षेत्रफलमा फैलिएको छ।