आज शुक्रबार कस्ताे रहला दिनभरकाे माैसम ? यस्ताे छ पूर्वानुमान

Thankot Times

थानकोट ।

तराईमा भूभागमा केही दिनदेखि लागेको हुस्सु र कुहिरो आज केही कम भएको छ ।

बिहीबार र बुधबारको तुलनामा आज हुस्सु र कुहिरो केही कम भएको हो ।

विराटनगरमा बिहान ६ बजेको भिजिविलिटी २५ सय मिटर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“जनकपुरमा दुई हजार मिटर, नेपालगञ्जमा चार किलोमिटर भिजिविलिटी छ,” मौसमविद् राजु प्रधानाङ भन्छन्, “भैरहवामा १७ सय मिटर र सिमरामा तीन हजार मिटर भिजिविलिटी रहेको छ ।”

तराईका धेरै स्थानमा हिजो र अस्ति दुई हजार मिटरभन्दा कम भिजिविलिटी थियो । त्यसको तुलनामा आज केही सुधार देखिएको हो ।

काठमाडौंमा भने तीन दिनदेखिको भिजिविलिटी उस्तै छ । आज पनि बिहान ६ बजे काठमाडौंको भिजिविलिटी ६ किलोमिटर रहेको मौसमविद् राजु प्रधानाङले जानकारी दिए ।

पूर्वी तराईदेखि पश्चिम तराईसम्म बाक्लो हुस्सु र कुहिरो लाग्दा यातायात सेवा प्रभावित हुँदै आएको छ । सडक यातायातसमेत प्रभावित बनेको थियो ।

निर्माणाधीन कच्ची सडक कुहिरो र हुस्सुको पानीले भिजेर हिलो हुँदा सवारी चलाउन कठिन भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सवारी साधन आवागमन अवरुद्ध भएको थियो ।

तराईका कतिपय स्थानमा हवाई सेवा समेत प्रभावित हुँदै आएको छ । दुई हजार मिटरभन्दा तल भिजिविलिटी हुँदा विमान उडान तथा अवतरण गर्न कठिन हुन्छ । त्यसैले न्यून भिजिविलिटीका कारण हवाई सेवा पनि प्रभावित भएको हो ।

आज बिहान पनि भैरहवामा भने विमान उडान तथा अवतरणका लागि भिजिविलिटी कम छ ।

यसैबीच, आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस रहेको छ । बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको हो । यो दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान रहेको मौसमविद् प्रधानाङले जानकारी दिए ।

बिहीबार बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेको थियो ।

आज काठमाडौंको मौसम सफा रहनेछ । देशका केही स्थानमा आज दिउँसो आंशिक बदली भए पनि अधिकांश स्थानमा मौसम सफा रहने विभागले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *