धादिङमा ट्रक र माइक्रोबस ठोक्किए, १६ जना घाइते, ७ जनाको अवस्था चिन्ताजनक
थानकोट ।
धादिङमा बिहीबार भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् ।
गल्छी गाउँपालिका-४ बेल्खुस्थित पृथ्वीलोकमार्गमा पोखराबाट काठमाडौंका लागि छुटेको ग २ ख ६६६ नम्बरको माइक्रोबस (हाइस) र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१८ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा स्याङजाका २५ वर्षीया रविना शाह, नुवाकोटको विदुर नगरपालिका-१२ का २१ वर्षीय विकेक मिजार, धादिङ निलकण्ठ नगरपालिका-२ का २६ वर्षीय राज गुरूङ, कास्कीको पोखरा महानगरपालिका-१४ का २७ वर्षीया सुस्मिता आले घाइते भएका छन् ।
यसैगरी, सोही ठाउँका २२ महिनाका रिहान पुन, ३३ वर्षीय खिम राज पुन, नाम ठेगाना नखुलेका एक जना विदेशी नागरिक, धादिङको सिद्दलेख गाउँपालिका-६ का २४ वर्षीय यम बहादुर घले, तनहुँको शुक्ला गण्डकी गाउँपालिका-७ का ३८ वर्षीय सुनिता आले, गोरखाको सहिद लखन गाउँपालिका-१ का २१ वर्षीय समय अर्याल, गोरखाकै ६१ वर्षीया मधुमाया अर्याल पनि दुर्घटनामा घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी, धादिङ बेनिघाट रोराङ गाउँपालिका-६ का ३९ वर्षीय रमेश थापा मगर, नाम, थर ,वतन नखुलेको अन्दाजी २२ वर्षीय महिला एक, १८ वर्षीय महिला एक जना, म्याग्दीको बेनि नगरपालिका-४ का ३४ वर्षीय पुरन पुन र कास्कीको पोखरा महानगरपालिकाका ३४ वर्षीय पुष्प पुन घाइते भएका छन् ।
घाइतेमध्ये १२ जनालाई थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं रेफर गरिएको छ । यी मध्ये सात जनाको अवस्था चिन्ताजनक रहेको धादिङ प्रहरीले जनाएको छ।
तस्बिरः नवि अहमद हजारी