मातातिर्थ क्षेत्रका पानी उद्योगमा घुम्ती प्रयोगशालासहित अनुगमन, अवस्था सन्तोषजनक
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले मातातिर्थ क्षेत्रमा सञ्चालनमा रहेका पानी उद्योगहरूमा प्राविधिकसहित अनुगमन गरेको छ ।
नगर उपप्रमुख बसन्ती श्रेष्ठको संयोजकत्वमा गरिएको सो अनुगमनका क्रममा चन्द्रागिरि नगरपालिका वडा नंं ८ मातातिर्थ क्षेत्रका करिब १० वटा पानी उद्योगहरूको अनुगमन गरिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको घुम्ती खाद्य प्रयोगशालासहित नगर उपप्रमुखको टोलीले मातातिर्थ क्षेत्रका अन्नपूर्ण मिनरल वाटर इण्डष्ट्रिज, रोयल स्प्रिङ मिनिरल वाटर एण्ड वेभरेज प्राइभेट लिमिटेड, हिमाल मिनरल वाटर उद्योग प्रा.लि, दुवा फूड प्रोडक्ट एण्ड वेभरेज प्रा.लि., सगरमाथा फुड एण्ड बेभरेज प्रा.लि. लगायतका उद्योगहरुमा पानीको गुणस्तर चेकजाँच गरेको चन्द्रागिरि नगरपालिका उद्योग, वाणिज्य तथा व्यवसाय प्रवर्द्धन शाखा प्रमुख एवं अनुगमन टोलीका सदस्य राजुबहादुर खड्काले जानकारी दिए ।
अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग मातातिर्थ, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रतिनिधिहरू, नगरप्रहरी लगायतको सहभागिता रहेको थियो ।
अनुगमनका क्रममा पानी भर्न अयोग्य भेटिएका बोतल तथा जार नष्ट गरिएको बताइएको छ । अनुगमन गरिएका उद्योगहरूबाट उत्पादित खानेपानी गुणस्तरीय भएकाे नगरउपप्रमुख बसन्ती श्रेष्ठले जानकारी दिइन् । नगरबासीहरूको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने चन्द्रागिरि नगरका व्यापार व्यवसाय तथा उद्योगहरूको अनुगमन निरन्तर हुने उपप्रमुख श्रेष्ठको भनाइ छ ।