नेकपा माओवादी केन्द्र चन्द्रागिरि नगर अध्यक्षमा गोपी सुर्खेती निर्वाचित
थानकोट ।
नेकपा माओवादी केन्द्र चन्द्रागिरि नगर अध्यक्षमा गोपी सुर्खेती चयन भएका छन् ।
शनिबार सम्पन्न सो पार्टीको चन्द्रागिरि नगरको तेस्रो अधिवेशनले अध्यक्षमा सुर्खेतीलाई सर्वसम्म निर्वाचित गरेको हो । सुर्खेती पहिलो स्थानीय तह निर्वाचनमा चन्द्रागिरि वडा नं. २ बाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । सो निर्वाचनमा काठमाडाैं जिल्लामा नेकपा माओवादीले जितेको वडा चन्द्रागिरि २ मात्रै थियो ।
यसअघि सो पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्नी सापकोटाले अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन अघि नागढुङ्गाबाट सो पार्टीले झाँकी, बाजागाजासहितको र्याली निकालेको थियो ।
पार्टीको तेस्रो नगर अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्नि सापकोटाले अहिलेको दुई दलीय सरकार सम्पूर्ण रुपमा असफल भइसकेको बताउँदै अहिले सरकारको कुनै क्षेत्रमा उपस्थिति नभएको बताए । उनले भने सरकारले राम्रो काम गरेकालाई दुःख दिने काममा गरिरहेको छ । सरकारले विद्युत प्रधिकरणका निर्देशक कुलमान घिसिंङलाई दुःख दिने, त्रिविको उपकुलपतिलाई दलका भात्रृसंगठन लगाएर कार्यालय जान नसक्ने अवस्था बनाएको उनको आरोप छ । सरकारको उपस्थिति भ्रष्ट्राचारी जोगाउने र बिचौलियाको संरक्षण गर्नेमा रहेको धारणा राखे । उनले स्थानीय तहका हक अधिकारहरुको अध्ययन गरेर नगरपालिकाका योजनाहरुमा सुझाव दिने र कार्यान्वयन गराउन दबाब सृजना गर्न उनले कार्यकर्तालाई आग्रह गरे ।
अधिवेशनबाट चन्द्रागिरि नगर उपाध्यक्षमा चन्द्रराज अधिकारी, पञ्च कुमार श्रेष्ठ , तेजमान श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सचिवमा सुमित्रा अधिकारी, कोषाध्यक्षमा सुमन श्रेष्ठ निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र चन्द्रागिरि नगर सदस्यमा ४६ जना सदस्य चुनिएका छन् । पदाधिकारीसहित सबै सदस्य सर्वसम्मत निर्वाचित भएको बताइएको छ ।