स्युचाटार क्रिकेट लिगको उपाधि किंग्स क्रिकेट एकेडेमीलाई
थानकोट ।
स्युचाटार क्रिकेट लिग इन्डोर टी-टेन क्रिकेट प्रतियोगिताको उपाधि किंग्स क्रिकेट एकेडेमीले जितेको छ।
नागार्जुन नगरपालिका स्युचाटारस्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा शनिबार सम्पन्न फाइनलमा किंग्सले ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।
उपाधि जित्न ५९ रनको लक्ष्य पाएको किंग्सले ९.२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
किंग्सका ओपनर आश्रय बस्नेतले सर्वाधिक २६ रन बनाए जो प्लेयर अफ द फाइनल पनि घोषित भए।
यस्तै, प्रदिप चन्दले १७, प्रसिद्ध श्रेष्ठले अविजित ८ तथा नरेन्द्र चन्दले अविजित ६ रन बनाए। ओपनरद्वय आश्रय र प्रदिपले ४० रनको साझेदारी गर्दै जितको आधार तयार गरे। ग्रेट हिमालयका नितेश कुमार र सन्दिप पराजुलीले समान १-१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिंङ गरेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले निर्धारित १० ओभरमा ५ विकेट क्षतिमा ५८ रन मात्र बनाउन सक्यो । उसको लागि सक्षम बस्ताकोटीले सर्वाधिक १७ रन बनाए। रुपेश श्रीवास्तवले १२, सरोज खत्रीले अविजित ९ रन बनाए। किंग्सका लागि आश्रय अधिकारी र प्रसिद्ध श्रेष्ठले समान १-१ विकेट लिए।
उपाधिसहित किंग्स क्रिकेट एकेडेमीले १ लाख रुपैयाँ पुरस्कार पाउँदा उपविजेता बनेको ग्रेट हिमालयले ४० हजार रुपैयाँमा चित्त बुझायो
प्रतियोगिताको प्लेयर अफ द सिरिज घोषित टिम बीडीएमएसका निरज भट्टले १० हजार रुपैयाँ पाए । यस्तै, प्रतियोगिताको उत्कृष्ठ बलर पनि निरजनै घोषित हुँदा उत्कृठ ब्याटर टिम बीडीएसका जतिन थापा घोषित भए। उत्कृष्ठ ब्याटर र बलरले समान ५-५ हजार रुपैयाँ पुरस्कार पाए।
विजेता खेलाडीहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य ध्यानगोविन्द रन्जितले पुरस्कार प्रदान गरेका थिए । सो क्रममा नेपाल ओलम्पिक कमिटिका महासचिव राजीव श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नानु बास्तोला, नेपाली कांग्रेसका नेता श्यामकृष्ण खड्का लगायतको उपस्थिति रहेको थियो।
तारकेश्वर युथ क्लबको आयोजनामा पाैष १२ गतेबाट सुरु भएको प्रतियोगितामा २० टिमले सहभागिता जनाएका थिए ।
तस्बिरः वीकेट नेपाल