चन्द्रागिरि नगरलाई क्षयरोग मुक्त क्षेत्र बनाइँदै, अभियान सञ्चालनका लागि संयोजक माग
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा क्षयरोग मुक्त अभियान सञ्चालन गरिने भएको छ ।
क्षयरोग मुक्त नेपाल घोषणा अभियान निर्देशिका-२०७८ र क्षयरोग मुक्त नेपाल अभियान-२०७८ अनुसार चन्द्रागिरि नगरपालिकालाई क्षयरोग मुक्त नगर बनाउन अभियानको थालनीको तयारी भएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
अभियान सञ्चालनका लागि चन्द्रागिरि नगरपालिकाले विशेषज्ञ कर्मचारी भर्ना गर्न आवेदन आह्वानसमेत गरेको छ ।
शुक्रबार नगरपालिकाबाट जारी सूचनामा उल्लेख भएअनुसार क्षयरोग मुक्त अभियान सञ्चालनका लागि कार्यक्रम संयोजक माग गरिएको हो ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य विषयमा कम्तीमा स्नातक गरेका व्यक्ति क्षयरोग मुक्त अभियान कार्यक्रमको संयोजकका लागि योग्य उम्मेदवार बन्न सक्नेछन् ।
चन्द्रागिरि नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगर क्षेत्रमा हालसम्म ८५ जनामा क्षयरोगको संक्रमण पुष्टी भइसकेको छ ।
अभियान अन्तर्गत नगरका सबै घरमा पुगी क्षयरोगका सम्भावित संक्रमितहरूको अभिलेख संकलन, रोग पहिचान एवं उपचारको दायरामा ल्याइनेछ । नेपाल सरकारले क्षयरोगको उपचार स्वास्थ्य संस्थामा निःशुल्क रुपमा गरिरहेको छ ।