लेखा समितिका सभापति पोखरेलका स्वकिय सचिव जिम्मेवारीवाट मुक्त
थानकोट।
आर्थिक अनियमिततामा मुछिएका स्वकिय सचिवलाई संसद्को लेखा समितिका सभापतिले निष्काशन गरेका छन् ।
मेडिकल अध्ययन मामिलामा रकम लिएको खुलेपछि सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले स्वकीय सचिव अनिलकुमार पोखरेललाई जिम्मेवारीबाट निष्काशन गरेका हुन् ।
एमबीबीएस परीक्षामा नाम निकालिदिने भन्दै स्वकिय सचिव अनिलले रकम लिएको सार्वजनिक भएर अदालतमा समेत मुद्दा परे पछि उनलाई निष्काशन गरिएको हो ।
उच्च अदालत विराटनगरले सभापति पोखरेलका स्वकीय सचिव अनिलकुमारलाई ठगीमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय मोरङलाई गत भदौमा परमादेश दिएको थियो ।
उक्त परमादेश पुस ११ मा प्रमाणीकरण भइसकेको छ ।
शुक्रबार संघीय संसद् सचिवालयलाई पत्र लेख्दै पोखरेलले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न जोकोहीमाथि निष्पक्ष छानबिन र दोषीउपर कडा कारबाही हुनुपर्ने आफ्नो मान्यता रहेकाले स्वकीय सचिवलाई पदबाट निष्काशन गरेको उल्लेख गरेका छन्।
‘मेरो स्वकीय सचिवको रूपमा कार्यरत अनिलकुमार पोखरेललाई उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको भन्ने विभिन्न मिडियामा प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। निजमाथि लगाएका विभिन्न आरोपहरूको अनुसन्धानमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ मेरो स्वकीय सचिवको जिम्मेवारीबाट आजैका मितिदेखि लागू हुने गरी निष्कासन गरेको व्यहोरा अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।