सभापति कप फुटबल माघ दोस्रो सातादेखि, विजेताले २६ लाख रुपैयाँ पुरस्कार पाउने
थानकोट ।
नेपाली कांग्रेसअन्तर्गतको नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समिति-२०८१ को आयोजनामा सभापति कप फुटबल प्रतियोगिता आगामी माघ १० गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका आठ र आमन्त्रित दुई विदेशी टोलीसहित १० पुरुष टिमको सहभागिता रहने आयोजक समितिका संयोजक मोहनबहादुर बस्नेतले बिहीबार सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । माघ १७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने छ ।
सोही अवसरमा समितिकै आयोजनामा दुर्गादत्त जोशी स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता माघ १८ गतेदेखि कैलालीको धनगढीमा आयोजना हुने जानकारी दिइयो । तीनदिने प्रतियोगिताको सिनियर र जुनियरतर्फ क्योरागीमा २० र पुम्सेमा ६ गरी २६ स्पर्धामा खेल हुनेछ ।
शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः एक लाख, ५० हजार र २५ हजार नगद पुरस्कार पाउने समितिका सचिव पूर्णसिंह बोहराले जानकारी दिए । उत्कृष्ट पुरुष÷महिला खेलाडी र निर्णायकलाई जनही १५ हजार नगदबाट पुरस्कृत गरिने छ । नेपाल तेक्वान्दो संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको उदीयमान खेलाडीले पाँच हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।
संयोजक बस्नेतले नेपालमा प्रजातन्त्र स्थापना गर्न योगदान दिएका विभिन्न स्वर्गीय व्यक्तित्वहरूको सम्मानमा विभिन्न खेलका प्रतियोगिता पनि आयोजना गर्ने बताए । यी प्रतियोगिताहरु भने नेपाल लोकतान्त्रिक खेलकुद संघले आयोजना गर्ने छ ।