क्रुर तरिकाले कुकुर मारेर सामाजिक सञ्जालमा भिडियो हाल्ने दुईजना पक्राउ

Thankot Times

थानकोट ।

पश्चिम नवलपरासीमा कुकुर मारेर सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । 

नवलपरासीको नारायणी नदीकिनार ठाडीघाटस्थित ठोकर नम्बर ५ मा पाँचवटा कुकुरको बच्चा र एउटा माउलाई निर्ममतापूर्वक हत्या गरी सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । 

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका– ५ बेलवानी बस्ने अन्दाजी ३३ वर्षीय राजकुमार सारू मगर र सोही ठाउँका २८ वर्षीय अमनकुमार चिडी मगर रहेका छन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि कुकुर मार्नेहरूको खोजी गरी तत्काल कारबाही गर्नुपर्ने आवाज चर्को गरी उठेको थियो ।

यसरी निर्मम तरिकाले कुकुर र कुकुरका बच्चा मार्नु र भिडियोसमेत बनाई सामाजिक सञ्जालमा राख्ने कार्य मुलुकी अपराध संहिताको पशुपन्छीसम्बन्धी कसुरको उल्लंघन देखिएको भन्दै सो कसुरमा संलग्न दुईजनालाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिएको नयाँ पत्रिकामा खबर छ।

उनीहरूलाई पशुपन्छीसम्बन्धी कसुरमा कारबाही अगाडि बढाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *