चन्द्रागिरि नगरका ३७ हजार घरमा डिजिटल नम्बर टाँसिने (भिडिवो)
थानकोट ।
चन्द्रागिरि नगरपालिकाले डिजिटल चन्द्रागिरिको लक्ष्य प्राप्तिका लागि जीपीएस, जीआइएसमा आधारित मेट्रिक प्रणालीमा घर नम्बर, डिजिटल सडक सञ्जाल र वेव वेस्ड वस्तुगत विवरणको अनलाइन प्रणाली कार्यान्वयनमा ल्याएको छ । जसअनुसार अब चन्द्रागिरि नगर क्षेत्रभित्र रहेका ३७ हजार घरमा डिजिटल नम्बर टाँसिने छ।
गृहमन्त्री रमेश लेखकले बिहीबार चन्द्रागिरि नगरपालिका-१५ तीनथानास्थित मुनाल क्लबमा आयाेजित एक कार्यक्रमका बीच नगर क्षेत्रका घर तथा सडकहरूमा डिजिटल नम्बर राख्ने कार्यकाे थालनी गरेका हुन् ।
जीपीएस, जीआइएस प्रविधिकाे प्रयाेगबाट अंकित गरिएको नम्बरले नगरका सबै घरहरूकाे पहिचान अनलाइनबाटै गर्न सकिने चन्द्रागिरि नगरका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले जानकारी दिए ।
उनका अनुसार चन्द्रागिरि नगरका करिब ३७ हजार घरमा तथा सडक मार्गहरुमा पहिचानका लागि छुट्टाछुट्टै नम्बर प्लेट राखिने छ।
समयानुसार प्रविधिमैत्री सेवा उपलब्ध गराउने नगरको नीति अनुसार नै नम्बर प्लेट जडान गर्ने कार्य भइरहेको र यो कार्य क्रमश हरेक घर थालनी गरिने प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले बताए ।
नगरपालिका क्षेत्रका सबै सामुदायिक विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालयको हाजिरीसमेत नगरपालिका कार्यालयबाट नै अनुगमन गर्ने गरि नगरपालिकाले प्रविधिको विकास गरिरहेको अर्यालको भनाइ छ । उनका अनुसार नगर क्षेत्रमा बन्ने नयाँ घरहरूको समेत पहिचानका लागि यो प्रणाली प्रयोग हुनेछ । त्रुटीरहित रुपमा यो प्रणालीको विकास गरिएकोले विविध चुनाैतीहरुको सामना गर्न नगर सचेत रहेको उनको भनाइ छ ।
लामो समयको प्रयास तथा मेहेनतका साथ सञ्चार र प्रविधिको उपयोग गरी चन्द्रागिरि नगरपालिकाका घरहरूको पहिचानका लागि डिजिटल नम्बर प्लेट राख्ने कार्यको थालनी हुनु पाउँदा नगरबासीहरूले गाैरव महशुस गरेको धारणा राख्दै नगरप्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गीले नगरपालिकालाई प्रविधिसँग जोड्ने गरी दुई वर्षभित्र डिजिटल नम्बर प्लेट राख्ने कार्य सकिन चार वर्ष लागेको बताए ।
प्रवक्ता खड्गीले ढिलै भएपनि डिजिटल नम्बर प्लेट राख्ने कार्यले मूर्त रूप लिएकोमा सन्तोष व्यक्त गरे ।
प्रविधि मैत्री कानून र जनशक्तिको अभाव भइरहेकोले नगरबासीहरूमा आशातित रुपमा प्रविधिमैत्री सेवा दिन नसकिएको स्वीकार्दै उनले वर्तमान समयमा सुशासनको नाउँमा अख्तियारमा बेनामे उजुरी पर्ने क्रमले जनप्रनिनिधि तथा कर्मचारीहरूमा हैरानी बढेको भन्दै उनले बेनामे उजुरी व्यवस्थापनका लागि गृहमन्त्री रमेश लेखक समक्ष अनुरोध गरे ।
कार्यक्रमलाई संक्षिप्त संवोधन गर्दै नगर उपप्रमुख बसन्ती श्रेष्ठले डिजिटल प्रणालीमा नगरको प्रोफाइल रुपान्तरण भएसँगै नगरबाट प्रदान हुने सेवाहरू छिटो छरितो हुने विश्वास लिएको धारणा राखिन् ।
नगरबाट सञ्चालन भइरहेको योजना, आयोजनाहरूको अनुगमन निरन्तर भइरहेको बताउँदै नगर उपप्रमुख श्रेष्ठले नगरको नीति र कानून विपरित सञ्चालनमा रहेको पाइएमा त्यस्ता योजनाहरु पास नहुने स्पष्ट पारिन् ।
नगरप्रमुख घनश्याम गिरीले स्थानीय तहको पहिलो निर्वाचनपछि प्रविधिमैत्री सेवा प्रदानका लागि निर्वाचित जनप्रतिनिधिहरूबीच नगरमा चरणबद्ध छलफल गरी अन्तरार्ष्ट्रिय प्रचलनमा रहेका विविध आयामहरु स्थानीय तहमा व्यवस्थापन गरि लागु गर्न चन्द्रागिरि नगरपालिकाले अग्रसरता लिइ नीति बनाइएकोमा आज सो को पहिलो प्रयास सार्थक भएको धारणा राखे । भाैतिक पूर्वाधारको विकास मात्रै संवृद्धिको आधार नभएको भन्दै नगरप्रमुख गिरीले समयानुकुल प्रविधि मैत्री हुन आजको अपरिहार्यता रहेको बताए ।
आज डिजिटल नम्बर प्लेट राख्ने कार्यको थालनी स्मार्ट चन्द्रागिरिको बनाउने कार्यको पहिलो चरण भएको भन्दै नगरप्रमुख गिरीले यसको कार्यान्वयनमा सबैको साथ र सहयोग चाहिने बताए ।
बढी जनघनत्व भएको वडाबाट सुरु भएको डिजिटल नम्बर प्लेट राख्ने कार्य क्रमश अन्य वडाहरूमा विस्तारित हुने र करिब ६ महिनाभित्र नगरका सबै क्षेत्रमा यो कार्य सम्पन्न हुने नगरप्रमुख गिरीको भनाइ छ ।
यस्तै, सांसद् कृष्णगोपाल श्रेष्ठले चन्द्रागिरि नगरपालिकाले प्रविधिमैत्री सेवा सुरु गरेकोमा खुसी लागेको बताउँदै नयाँ प्रयोग र प्रविधिमा कमि कमजोरी हुनु स्वभाविक हुने बताउँदै उनले नगरपालिकाले थालनी गरेको प्रणालीको स्थायित्वका लागि ध्यान दिन सबैमा अनुरोध गरे ।
कार्यक्रममा शुभकामना सन्देश दिँदै अर्का संघीय सांसद् राजेन्द्र कुमार केसीले काठमाडाैं उपत्यकामा नै पहिलोपटक डिजिटल नम्बर राख्ने कार्यकाे थालनी चन्द्रागिरि नगरमा सुरु भएकोले नगरबासीहरूले गाैरवानुभूति गर्नुपर्ने बताए । प्रविधिको अनुसरण नगरे अब भोकै रहने अवस्था आइसकेको बताउँदै सांसद् केसीले राजधानीको प्रवेशद्धारका रुपमा रहेको चन्द्रागिरि नगरपालिकामा प्रविधिमैत्री सेवा दिन गरेको प्रयासको खुलेर प्रशंसा गरे । नेपालमा कुनै कार्यको कार्यान्वयको निरन्तरतामा समस्या रहेको भन्दै उनले डिजिटल नम्बर प्लेट व्यवस्थापनको थालनीले दीगो रुप लिनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले चन्द्रागिरि नगरपालिकाले देशमै पहिलोपटक जीपीएस, जीआइएस प्रविधिमा आधारित भएर घर तथा सडक पहिचानका लागि डिजिटल नम्बर प्लेट जडानको कार्य सुरु गरेकोमा जनप्रतिनिधिहरू तथा नगरबासीहरूलाई बधाई दिए । चन्द्रागिरि नगरपालिकामा भएको यो कार्य अन्य स्थानीय तहका लागि समेत अनुशरणीय रहेको बताए ।
सुशासन, संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सृदृढीकरण तथा भ्रष्ट्राचार नियन्त्रण आजको मुख्य एजेन्डा भएको भन्दै मन्त्री लेखले प्रशासकीय कार्यको झन्झट न्यूनिकरण आजको आवश्यकता भएको बताए ।
संघ, प्रदेश र स्थानीय सरकारको सफल कार्यान्वयन भइरहेको भन्दै मन्त्री लेखकले क्षेत्राधिकार भित्रका सेवाग्राहीका लागि स्थानीय तहले सुशासनको सुनिश्चताता गर्न डिजिटल नम्बर प्लेटको जडान सुरु गर्नु राम्रो आधार भएको धारणा राखे ।
चन्द्रागिरि नगरपालिकामा डिजिटल नम्बर राख्ने कार्यकाे थालनी कार्यक्रममा प्रदेश सांसद् यमुनादेवी श्रेष्ठ, संविधानसभा सदस्य एवं अधिवक्ता रामनारायण विडारी, चन्द्रागिरि नगरका विभिन्न वडाका जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, सञ्चारकर्मीहरू, स्थानीय बासी तथा चन्द्रागिरि नगरमा कार्यरत कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
सिभिल लिंक, एकवाना र एक्जेक्यूटिभ जेभीले अनलाइन प्रणाली कार्यान्वयनका लागि परामर्शदाताको जिम्मेवारी लिएका हुन् ।
ड्रोन सर्भे गरि नगर क्षेत्रका ३७,३४० घरको पहिचान गरिएको छ भने करिब ४,२०० वटा सडक मार्ग सञ्जालको पहिचान गरि डिजिडाइजेसन गरिएको बताइएको छ।
https://chandragiriprofile.com/ मा लग इन गरि यस प्रणालीको उपयोग गर्न सकि
ने चन्द्रागिरि नगरपालिकाले जनाएको छ । नगरका सबै घरधनीले सेवा प्राप्तिका लागि नगरपालिकाबाट डिजिटल कोड प्राप्त गर्ने व्यवस्था मिलाइएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।
चन्द्रागिरि नगरमा हालसम्म घरनक्शा पास प्रणाली, राजश्व प्रणाली न्यायिक समिति सञ्चालन प्रणाली, नगरपालिपालिका, वडा कार्यालय, सबै स्वास्थ्य सस्था, विद्यालयसमेतको एकीकृत डिजिटल हाजिरी प्रणाली जस्ता प्रणाली सञ्चालनमा आएका छन्।