नागढुंगा-नौबिसे-मुग्लिन सडक अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल
थानकोट ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दहालले नागढुंगा-नौबिसे-मुग्लिन सडकको स्थलगत अनुगमन गरेका छन् ।
नागढुंगा-नौबिसे-मुग्लिन, नौबिसे-मलेखु तथा मलेखु-मुग्लिन खण्डको निरीक्षण गर्दै उनले संघीय राजधानीलाई देशका विभिन्न भागसँग जोड्ने लाइफलाइनको रुपमा रहेको सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेको भन्दै परिणाम देखिनेगरी काम गर्न निर्देशन दिएका छन्।
यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले निर्माणमा देखिएका स्थानीय अवरोध र समस्या मन्त्रालयले समाधान गरिसकेकाले अब परिणाम देखाउने काम निर्माण कम्पनीको रहेको बताए।
मन्त्री दाहाल एवम् मन्त्रालयका अधिकारीहरुसँग निर्माण कम्पनीका प्रतिनिधिहरुले यसअघि निर्माण सामाग्री जुटाउन देखिएको समस्या मन्त्रीकै अग्रसरतामा भएको पहलपछि समाधान भएको बताएका थिए। उनीहरुले अब मासिक लक्ष्य निर्धारण गरी लक्ष्य प्राप्ति हुने ढंगबाट काम गर्ने प्रतिबद्धता जनाए।
कार्यभार सम्हालेपछि यसअघि समेत मन्त्री दाहालले यस सडकखण्डको निरीक्षण गरी कामलाई तीव्र बनाउन निर्देशन दिएका थिए। मन्त्रीको निर्देशन र निरीक्षण पछि यी सडकखण्डहरुमा कामले गति लिएको छ। कामलाई थप तीव्र बनाउन ताकेताका लागि मन्त्री निरीक्षणका लागि पुगेका हुन्।