कीर्तिपुरको उपनिर्वाचनमा रास्वपाले उम्मेदवार नउठाएको विषयमा सोधपुछ गर्न माग

Thankot Times

थानकोट ।

स्थानीय उपचुनावमा काठमाडौं महानगरपालिका-१६ को अध्यक्षमा निर्वाचित रोजिना श्रेष्ठलाई पार्टीका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्नुपर्ने माग राष्ट्रिय स्वतन्त्र पार्टीभित्र उठेको छ ।

केन्द्रीय सदस्य विजय जैरुले कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पत्र लेखेर पार्टीका तर्फबाट निर्वाचित वडाध्यक्षलाई गैरदलीय बनाउने विषयमा छलफल गर्न माग गरेका हुन् । श्रेष्ठ रास्वपाबाट स्थानीय तहका लागि चुनिएकी एक मात्र जनप्रतिनिधि हुन् । पार्टीको एजेन्डा नै स्थानीय तहलाई गैरदलीय बनाउनु रहेको भन्दै जैरुले यसबारे पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।

रास्वपा केन्द्रीय समिति बैठक यही पुसको १९, २० र २१ गतेका लागि आह्वान गरिएको छ । उक्त बैठकमा निर्वाचित वडाध्यक्षलाई गैरदलीय बनाउनेसहित तीन एजेन्डामा छलफल गर्न ध्यानाकर्षण गराउँदै उनले पत्र लेखेका हुन् ।

उनले २०८४ सालको आमनिर्वाचनअगाडि पार्टी प्रतिपक्षमा बस्ने विषयलाई केन्द्रीय समितिले पारित गर्नुपर्ने गरी छलफल चलाउन माग पनि गरेका छन् । साथै, गत उपचुनावमा कीर्तिपुर नगरपालिकामा उम्मेदवारी नदिइएको विषयमा त्यहाँका पार्टी नेतालाई सोधपुछ गर्न पनि उनले ध्यानाकर्षण गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *