आईसीसी र्याङ्किङ: अलराउण्डर दीपेन्द्र ऐरी दोश्रो स्थानमा कायमै
थानकोट ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले सन् २०२४ को अन्तिम खेलाडी वरीयता सार्वजनिक गरेको छ ।
आईसीसीले ३१ डिसेम्बरमा सार्वजनिक गरेको वरीयतामा टी-२० आई वरीयतामा नेपाली खेलाडी मध्ये सबैभन्दा उच्च स्थानमा दीपेन्द्रसिंह ऐरी छन् । उनी गत असोज यता लगातार अलराउन्डरतर्फको वरीयतामा दोस्रो स्थानमा यथावत छन् । आईसीसीको पछिल्लो अपेडटमा पनि उनी दोस्रो स्थानमा यथावत छन् । यो क्याटागोरीमा भारतका हार्दिक पंड्या शीर्ष स्थानमा छन् ।
दोस्रो स्थानमा ऐरी र तेस्रो स्थानका इंग्यल्यान्डका लियम लिभिङ्ग्सटनको रेटिङ प्वाइन्ट एक मात्र फरक छ । यो क्याटागोरीमा नेपालका ६ जना खेलाडी टप सयभित्र छन् । तर, सबैको वरीयता खस्किएको छ । गुल्सन झा एक स्थान खस्किएर ३५ औँ स्थानमा पुगेका छन् । कुशल मल्ल एक स्थान खस्केर ४७ औँ, कुशल भुर्तेल ५४ औँमा यथावत, रोहित पौडेल एक स्थान खस्केर ५७ औँ र करण केसी ७५ औँमा यथावत छन् ।
यस्तै ब्याटिङतर्फ पनि नेपाली खेलाडीको वरीयता खस्किएको छ । दीपेन्द्रसिंह ऐरी १ स्थान खस्केर ५१ औँ, रोहित पौडेल ६० मा यथावत, आसिफ शेखर ६९ मा यथावत, कुशल भुर्तेल दुई स्थान सुधारपछि १०० मा आएका छन् । ब्याटिङतर्फ टप सयभित्र ४ जना मात्र ब्याटर छन् ।
यस्तै बलिङतर्फ नेपाली खेलाडीको अवस्था झन दयनीय छ । टप सयभित्र नेपालका मात्र दुई जना खेलाडी छन् । दीपेन्द्रसिंह ऐरी २ स्थान खस्केर ६२ औँ र सोमपाल कामी एक स्थान खस्केर ८९ औँ स्थानमा छन् ।