अनेरास्ववियुको महाधिवेशन चैत महिनामा
थानकोट ।
नेकपा (एमाले)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को महाधिवेशन आउँदो चैत मसान्तमा हुने तय भएको छ । यही पुस ३ गतेको अनेरास्ववियु सचिवालय बैठकबाट २४औँ महाधिवेशन चैत मसान्तभित्र गर्ने निर्णय गरिएको उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।
महाधिवेशनको मिति तोक्न माघ ६ र ७ गते केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ ।
केन्द्रीय कमिटीले चैत मसान्तको कुनै निश्चित मिति तय गर्ने घर्तीले बताए ।
“चैत मसान्तभित्र महाधिवेशन गर्ने निर्णय भइसकेको छ । आगामी माघ ६ र ७ गतेको केन्द्रीय कमिटी बैठकले मिति तोक्छ,” घर्तीले भने । सचिवालयका नेताहरूबीच चैत २९ र ३० गते महाधिवेशन गर्दा उपयुक्त हुने विषयमा छलफल भने भइसकेको छ ।
समिक बडाल नेतृत्वको कमिटीले फागुन ५ गते दुई वर्षको कार्यकाल पूरा गर्दै छ । फागुन १५ गते स्ववियु निर्वाचन तय भएकाले चैतमा महाधिवेशन गर्ने निर्णय गरिएको अनेरास्ववियुका नेताहरू बताउँछन् ।
महाधिवेशनको तयारीसँगै नेतृत्वका निम्ति दौडधुप सुरु भएको छ । वर्तमान अध्यक्ष बडालले आफू नदोहोरिने सन्देश कमिटीका नेताहरूलाई दिएका छन् । योसँगै उपाध्यक्षहरू नारायण घर्ती, गोविन्द गिरी, मर्यादा विष्ट र धर्म गिरी अध्यक्षको दाबेदार छन् ।
महासचिव नरेश रोकाया पनि अध्यक्षको दाबेदार रहेको अनेरास्ववियुका एक पदाधिकारीले बताए । तर, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु (क्रान्तिकारी)मा ३२ वर्षे उमेरहदको निर्णयसँगै अनेरास्ववियुमा पनि त्यसको चर्चा छ । उमेरहद राख्ने निर्णय भएमा हाल कमिटीमा रहेका अधिकांश नेताको बहिर्गमन हुनेछ ।
उपाध्यक्ष घर्तीले विधान अधिवेशनबाट त्यसबारे निर्णय गरिने बताए । “महाधिवेशनमा विधानबारे छलफल हुनेछ । उमेरहदको विषय त्यति बेला नै छलफल हुनेछ,” उनले भने ।