काठमाडाैंमा गएराति भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु, १ जना गम्भीर घाइते

Thankot Times

थानकोट ।

सोमबार राति काठमाडौं उपत्यकामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

काठमाडौंको नेपालटारमा सोमबार राति साढे ९ बजे बा ९७प ६५४९ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलको पछाडि सवार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा संखुवासभाको चैनपुर घर भई हाल बौद्ध बस्ने ३३ वर्षीय कमल राई छन् ।

उनको उपचारको क्रममा राति १० बजेर २० मिनेटमा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक संखुवासभा चैनपुरकै २६ वर्षीय सुभम राई घाइते छन् । उनको टाउको र दायाँ खुट्टामा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यस्तै, गए राति नै ललितपुरको भैंसीपाटीमा यात्रुबाहक माइक्रोबसको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बा ३ ख ३१०२ नम्बरको माइक्रो बस बिजुलीको पोलमा ठोक्किएर अनियन्त्रित भई बाटो किनारमा हिँडिरहेकी ३५ वर्षीया गोमा लुंगेलीलाई ठक्कर दिएको थियो ।

ललितपुरको मगरगाउँ बस्ने गोमाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *