नेकपा एमालेबाट किनाराकृत गरिएका भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने

Thankot Times

थानकोट ।

नेकपा एमालेको राजनीतिबाट बिदा भएका डा. भीम रावलले बुधबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।

उनले आफ्ना कुराहरू राख्न र भावी कार्ययोजना बारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको रावलका सचिवालय सदस्य गोविन्द दुवालले जानकारी दिए ।

नयाँ पार्टी खोल्ने वा कसरी अघि बढ्ने भन्ने सवालमा रावल अहिले विभिन्न व्यक्तिसँग टोखा नगरपालिकास्थित आफ्नै निवासमा छलफलमा छन् ।

नयाँ पार्टी खोल्ने योजना बुधबार नै घोषणा हुँदैन ।

उहाँ छलफलमै हुनुहुन्छ । दुवालले खबरहबलाई भने, ‘भावी कार्ययोजना र अहिलेसम्म उहाँप्रति भएका पार्टीको गतिविधिबारे बुधबार जनकारी गराउनुहुन्छ ।’

शुभचिन्तक लगायत मानिस बोलाएर पत्रकार सम्मेलन गर्ने या मिडियालाई मात्र बोलाएर गर्ने भन्ने बारेमा मंगलबार मात्र निर्णय हुने बताइएको छ ।

एमालेमा चार दशकभन्दा लामो योगदान दिएका रावल चितवनमा भएको दशौँ महाधिवेशनबाट एमालेमा किनाराकृत भएका थिए ।

खास गरी चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएदेखि उनी किनाराकृत हुन थालेका थिए ।

एमालेमा किनाराकृत भएका रावल सुदूरपश्चिम र कर्णालीमा एक्लै आफ्ना गतिविधि गरिरहेका थिए । तर, एमालेले शृङ्खलाबद्ध दर्जनौँ आरोप लगाउँदै गत बुधबार सङ्गठित सदस्यताबाट मुक्त गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *