पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने एचपीभी खोपको तेस्रो लट नेपाल आइपुग्यो

Thankot Times

थानकोट ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियानका लागि तेस्रो लटको खोप आइपुगेको छ । ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन’ (गाभी) को सहयोगमा चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको सिकोलिन ब्राण्डको एचपीभी खोप आएको हो ।

स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले आइतबार थप ४ लाख ९० हजार भाइल खोप आइपुगेको जानकारी दिए । यसअघि पहिलो र दोस्रो लट गरेर १० लाख ७ हजार भाइल खोप आइपुगिसकेको छ ।

‘एचपीभी खोप चार पटक गरी ल्याउने योजना थियो । अब एक लटको खोप आउन बाँकी छ,’ डा. गौतमले भने, ‘यसअघि ल्याइएका खोपलाई प्रदेश कार्यालयमा पठाइएको छ ।’

डा. गौतमका अनुसार गण्डकी, लुम्बिनी, बागमती र कोशीमा खोप पठाइसकेको छ । अबको खोप सुदूरपश्चिम, कर्णाली र मधेशमा पठाउने तयारी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *