कार्यवाहक राजदूतसहित जापानी राजदूतावासका उच्च अधिकारी चन्द्रागिरिमा
थानकोट ।
नेपालका लागि जापानका कार्यवाहक राजदूत तामुरा ताकाहिरो नेतृत्वको एक प्रतिनिधि मण्डलले मंगलबार चन्द्रागिरि नगर कार्यपालिकाको कार्यालय भ्रमण गरेको छ ।
नगरको भ्रमणमा आएका कार्यवाहक राजदूत ताकाहिरो सम्मिलित टोलीले नगरप्रमुख घनश्याम गिरीसँग अन्तर्क्रिया समेत गरेको छ ।
सो क्रममा नगर प्रमुख गिरीले नगरपालिकाले विभिन्न क्षेत्रमा गर्दै आएको विकास निर्माणका विषयमा जापानी पाहुनालालाई जानकारी गराएका थिए । नगरप्रमुख गिरीले उक्त अवसरमा चन्द्रागिरि नगरपालिकामा भइरहेको फोहोर मैला व्यवस्थापन, खानेपानी सेवा वितरण, रोजगारी सिर्जना, नगरबाट प्रवाह हुने सेवामा डिजीटलाइजेशन, स्वदेशी तथा विदेशी स्थानीय तहसँगको भगिनी सम्बन्ध लगायतका विषयमा जापान सरकारबाट हुन सक्ने साथ सहयोगका विषयमा जिज्ञासा राखेको नगरप्रमुखको सचिवालयले जनाएको छ।
अन्तरक्रियालाई सम्बोधन गर्दै नेपालका लागि जापानका कार्यवाहक राजदूततामुरा ताकाहिरोले चन्द्रागिरि नगरका मेयरसहित जनप्रतिनिधिहरुबाट राष्ट्रिय गाैरवको परियोजना नागढुङ्गा सुरुङ्गमार्ग निर्माणका क्रममा भएको समन्वयकारी भुमिकाको लागि धन्यवाद ज्ञापन गर्दै नगरपालिकाका अन्य क्षेत्रमा पनि हुन सक्ने साथ र सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले नगरपालिकाको प्राङ्गणमा स्थानीय उत्पादनको प्रदर्शनीको समेत अवलोकन गरेका थिए ।