चन्द्रागिरि क्षेत्रमा किन बिजुली सेवा अनियमित भइरहेको छ ? यस्तो छ वितरण केन्द्र प्रमुखको भनाइ
थानकोट ।
चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा विद्युत सेवा नियमित हुन नसक्दा जनजीवन प्रभावित बनेको छ ।
यस क्षेत्रको तापक्रम दिनहुँ घटिरहँदा विद्युतीय सामाग्रीको प्रयोग गरी न्यानो हुने सेवाग्राहीको चाहनामा बिजुली सेवा अनियमित भएपछि उनीहरु मर्कामा परेका छन् ।
सोमबार साँझ करिब ७ बजेबाट चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती व्यहोर्नपर्यो ।
के कारण बिजुली सेवा अवरुद्ध भयो भनि नेपाल विद्युत प्राधिकरणको बलम्बु उप-वितरण केन्द्रमा रहेको नो-लाइट शाखाको हटलाइन ०१-४३१०५१८ मा सम्पर्क गर्दा अधिकांश सेवाग्राहीको फोनको जवाफ आएन अर्थात फोन नै लागेनँ ।
खानपिनको समय सुरु हुनै लाग्दा विद्युत सेवा अवरुद्ध भएपछि मैनबत्तिको सहारामा यस क्षेत्रका मानिसहरूले नित्य कर्म पूरा गरे ।
उसो त राति १० बजेपछि बिजुली आपुर्ति सहज बन्यो । त्यति बेलासम्म चन्द्रागिरि बासी ओछ्यान पसिसकेका थिए ।
मंगलबार बिहान करिब ७ बजेबाट नै चन्द्रागिरि नगरका कतिपय स्थानमा विद्युत सेवा अवरुद्ध बन्यो । उसो त प्राधिकरणको पूर्व निर्धारित तालिका बमोजीम मंगलबार बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्म कलंकीदेखि थानकोटसम्म बिजुली अवरुद्ध हुने निश्चित थियो ।
मंगलबार साँझ समेत करिब ५ बजेबाट चन्द्रागिरि नगरका विभिन्न क्षेत्रमा बिजुली आपूर्ति अवरुद्ध बन्यो । चिसो साँझमा बिजुली गएपछि खाना पकाउने सुरसार गरिरहेका चन्द्रागिरि बासीहरू के विकल्प खोज्ने दोधारमा थिए । मंगलबार साँझ करिब ६ः१० बजेबाट भने बिजुली आपूर्ति सहज बनेको छ ।
किन यस क्षेत्रमा बिजुली सेवा अनियमित भइरहेको छ भन्ने जिज्ञासा समाधानका लागि थानकोट टाइम्सले मंगलबार साँझ नेपाल विद्युत प्राधिकरण काठमाडाैं पश्चिम वितरण केन्द्र अन्तर्गतको बलम्बु उपवितरण केन्द्र प्रमुख इन्द्र खाम्चासँग सम्पर्क गर्यो ।
वितरण केन्द्र प्रमुख खाम्चाका अनुसार सोमबार साँझ मातातिर्थस्थित ११ हजार भोल्टेज लाइन सट भएपछि समस्या उत्पन्न हुँदा चन्द्रागिरि नगरका विभिन्न स्थान अन्धकारमय बनेको हो । अस्थायी रुपमा मर्मत गरिएपछि राति बिजुली सेवा सुचारु भएको हो । उनका अनुसार मंगलबार बिहान सोमबार साँझ समस्या उत्पन्न भएको मातातिर्थ क्षेत्रमा वितरण लाइन मर्मत गर्न बिजुली आपूर्ति बन्द गरिएको हो।
मंगलबार साँझ भने बाैथली चोकनजिकै वितरण लाइनमा समस्या आएपछि बिजुली सेवा अवरुद्ध बनेको हो ।
बलम्बु नोलाइटमा किन फोन लाग्दैन् भन्ने थानकोट टाइम्सको प्रश्नमा बलम्बु उपवितरण केन्द्र प्रमुख इन्द्र खाम्चाले भने ‘ड्यूटीमा सबै कर्मचारी खटिएपछि फोन मोबाइलमा ट्रान्सफर हुने व्यवस्था मिलाएका छाैं, सबै जना फिल्डमा हुँदा नेटवर्कको समस्या हुने गरेका कारण सेवाग्राहीले सम्पर्क गर्दा फोन नलागेको हो ।’