काठमाडौं-हटाैंडा रोपवे पुनः सञ्चालन गर्न सम्भाव्यता अध्ययन गर्दै बागमती प्रदेश सरकार
थानकोट ।
काठमाडौं-हटाैंडा रोपवे सञ्चालनका लागि सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
बन्द भएको २५ वर्षपछि रोप वे सञ्चालन सम्भाव्यता अध्ययनका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्यक्रममा समेटेको छ ।
मन्त्रालयका प्रवक्ता भूपेन्द्रकुमार यादवले पूर्व सम्भाव्यता अध्ययनका लागि ५ लाख बराबर बजेट विनियोजन गरिएको बताए । ‘पूर्व सम्भाव्यता अध्ययनका लागि वार्षिक कार्यक्रममा समेटेका छौँ । अध्ययन गर्नका लागि तयारी हुँदै छ ।
अमेरिकाको आर्थिक तथा प्राविधिक सहयोगमा २०२० सालमा हेटौंडा–काठमाडौं सामान ढुवानी गर्न रोपवे सञ्चालन हुँदै आएको थियो। प्रभावकारी सञ्चालन हुन नसक्दा २०५६ जेठदेखि रोपवे बन्द छ। त्यसबेला हेटौंडाबाट सिमेन्टलगायत अन्य वस्तु काठमाडौं आपूर्ति हुने गरेको थियो।
लामो समयदेखि बन्द भएपछि अहिले रोपवेका सबै संरचना कवाडी बनेका छन। अधिकांश सामान चोरी भइसकेका छन। २०५९ मा प्रधानमन्त्री शेरबहादुर देउवाले रोपवे खारेजीको निर्णय गरेपछि पुनः सञ्चालनको सम्भावना टरेको थियो।
पुरानो रोपवे सञ्चालनको अवस्थामा हेटौंडाबाट फाखेल, सिस्नेरी, ईपा पञ्चकन्या, कुलेखानीका स्थानीयले दैनिक खाद्यान्न, तरकारी, लत्ताकपडा, सिमेन्ट, जस्तापाता र औषधीलगायत सुपथ मूल्यमा ढुवानी गर्न पाएका थिए।
त्यसबेला हेटौंडाबाट काठमाडौंको टेकुतर्फ स्थानीय व्यापारीले सिमेन्ट, खाद्यान्न, लत्ताकपडा, जस्तापाता, मार्बल, औषधी, इन्धन ढुवानी गरी सुपथ मूल्यमा पठाउने गरिएको थियो। विशेषगरी हेटौंडा सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्ट पनि रोपवेबाट आपूर्ति हुने गरेको थियो ।
https://www.thankottimes.com/2024/02/39091/