पूर्व महामन्त्री सिटाैलाको उपस्थितिमा चन्द्रागिरिमा आज कांग्रेसको विशेष अभियान सुरु हुँदै
थानकोट ।
सत्तारुढ दल नेपाली कांग्रेसको १ सय दिने विशेष सांगठनिक अभियान चन्द्रागिरि नगरपालिकामा आज सुरु हुँदैछ ।
गत भदाै १६ गते सो पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले २०८१ असोज १ गतेदेखि पौष १० गतेसम्म विशेष सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन अभियान सञ्चालन भइरहेको हो। त्यस्तै अभियानका दौरान विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन पनि नेपाली काँग्रेसले विभिन्न कार्यक्रम गरिरहेको छ ।
अभियान अन्तर्गत चन्द्रागिरि नगरमा आज शुक्रबार सो पार्टीका पूर्व महामन्त्री एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटाैलाको उपस्थितिमा नगर भेला आयोजना हुने नेपाली काँग्रेस चन्द्रागिरि नगर कमिटि सचिव राजेन्द्र महर्जनले जानकारी दिए ।
नगर सभापति एवं चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीको निजी निवास थानकोटमा सो भेला आयोजना हुने बताइएको छ ।