बागमती प्रदेशका मुख्यमन्त्रीद्धारा चन्द्रागिरि नगर प्राथमिक अस्पतालको निरीक्षण
थानकोट ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले थानकोटस्थित चन्द्रागिरि नगर प्राथमिक अस्पतालको निरीक्षण गरेका छन् ।
बिहीबार बिहान अस्पतालमा आयोजित एक कार्यक्रममा सहभागी हुन थानकोट आइपुगेका मुख्यमन्त्री लामाले अस्पतालबाट प्रदान हुने सेवा तथा अस्पतालका विभिन्न विभागहरूको अवलोकन गरेका हुन् ।
सो क्रममा नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी तथा अस्पताल व्यवस्थापनका कर्मचारीहरूले अस्पतालबाट प्रदान हुने सेवा तथा अन्य विषयमा मुख्यमन्त्री समक्ष ब्रिफिङ गरेका थिए । यस्तै, नगर अस्पताल हाता नजिकै निर्माणको चरणमा रहेको प्रसूति विशेषज्ञ अस्पतालका विषयमा समेत मुख्यमन्त्रीलाई जानकारी गराइएको थियो । जर्मन सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा करिब एक अर्बमा लागतमा सो अस्पताल निर्माण भइरहेको छ ।
हाल चन्द्रागिरि नगर अस्पतालमा १५ शैया, प्रयोगशाला, २४सैँ घण्टा आकस्मिक कक्ष सेवासहित बर्थिङ सेवा उपलब्ध भइरहेको छ ।
बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पाैडेलले २०७८ बैशाख २८ गते चन्द्रागिरि नगर प्राथमिक अस्पतालको उद्घाटन गरेका थिए ।