पाैष ७ गतेबाट थानकोट–चित्लाङ सडक एक महिना पूर्णरुपमा बन्द गरिने
थानकोट ।
काठमाडौं र हेटौंडा जोड्ने थानकोट-चन्द्रागिरि-चित्लाङ सडकखण्ड यहि आइतबारबाट बन्द हुने भएको छ ।
उक्त सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म एक महिनासम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।
सडक डिभिजन कार्यालय काठमाडौंले आज बिहीबार सूचना जारी गर्दै सडक स्तरोन्नतिका लागि यही पुस ७ गतेदेखि माघ ६ गतेसम्म पूर्णरुपमा बन्द गरिने जानकारी गराएको छ ।
सो अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न कार्यालयले अनुरोध गरेको छ ।
‘यस कार्यालयअन्तर्गत थानकोट–चित्लाङ सडक स्तरोन्नतिका लागि उक्त सडकको पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्मको सडकखण्ड मिति २०८१–०९–०७ देखि ०८१–१०–०६ सम्म पूर्ण रुपमा बन्द हुने भएकोले सो अवधिभर वैकल्पिक सडकको प्रयोग गर्न हुन जानकारी गराइन्छ’, सूचनामा उल्लेख छ ।