भक्तपुरमा सम्पन्न खुला बाँसुरी बाजा प्रतियोगितामा थानकोटको झिगु नेवा बाँसुरी बाजा खलः प्रथम

Thankot Times

थानकोट ।

भक्तपुर नगरपालिकाको आयोजनामा जारी भक्तपुर महोत्सव २०८१ अन्तर्गत आयोजित खुला बाँसुरी बाजा प्रतियोगितामा थानकोटको बासुरी खलले पहिलो स्थान हात पारेको छ। 

आइतबार सम्पन्न प्रतियोगितामा थानकोटस्थित झिगु नेवा बाँसुरी बाजा खलः ले पहिलो स्थान हात पारेको हो ।  प्रतियोगितामा रूद्रायणी बाँसुरी खलः खोकना ललितपुर द्वितीय र श्री नासः हेमा बाँसुरी बाजं खलः भक्तपुर तृतीय, देवी सांस्कृतिक बाजा खलः चाँगुनारायण नपा र निक्वे दाफा खल मध्यपुर थिमिले सान्त्वना स्थान हासिल गरेको बताइएको छ। 

 बासुरी बाजा प्रतियोगितामा १८ जना निर्णायकहरूको मुल्यांकनका आधारमा थानकोटले पहिलो स्थान प्राप्त गरेको हो ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विजयी टोलीलाई नगद पुरस्कार र वाद्यवादन सामग्री प्रदान गरेका थिए । 

कार्यक्रममा अध्यक्ष बिजुक्छेँले मौलिक कला, संस्कृति, भाषा, जीवनशैली मात्र नभई बोली, व्यवहार, अतिथि सत्कार आदि पनि सुसंस्कृत हुनुपर्ने र ती सबै संस्कृतिअन्तर्गत पर्ने बताए ।

उनले नयाँ पुस्तालाई नेपाल भाषा बोल्न र सिक्न अभिप्रेरित गर्नुपर्नेमा जोड दिँदै भक्तपुर महोत्सव आयोजनाले भक्तपुरको मौलिकता प्रदर्शन हुनुका साथै नयाँ पुस्तालाई यसबारे सुसूचित पार्ने अवसर मिलेको धारणा राखे ।

 शुक्रबारबाट सुरु भएको पाँच दिने महोत्सव आज मंगलबार सकिँदैछ ।

महोत्सवमा भक्तपुरका जीवनशैली, खानपान, शैक्षिक गतिविधि, सांस्कृतिक गतिविधि, परम्परागत सीप र खेलकुदलगायत विभिन्न गतिविधिहरू प्रदर्शन गरिएको छ भने नगरपालिकाले तोकेका विभिन्न ३२ वटा स्थलहरूमा महत्वपूर्ण गतिविधि आयोजना गरिएको छ ।

भक्तपुरमा लिच्छविकालीन र मल्लकालीन विभिन्न सम्पदाहरू अहिलेपनि जीवन्त देख्न पाइन्छ । भक्तपुर नगरका मूर्त र अमूर्त सम्पदाहरूको मूल्याङ्कन गरी सन् १९७९ मा युनेस्कोले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको थियो ।

विश्वका विभिन्न देशबाट नेपाल आउने पर्यटकहरूमध्ये अहिले २५ प्रतिशतले भक्तपुर भ्रमण गर्ने गरेको नगरपालिकाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *