मातातिर्थको ५ रोपनी जग्गामा बन्दैछ ‘आरोग्य पार्क’, १५ जना डिजाइनरले गरेको डिजाइन प्रदर्शनीमा

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०८ मातातिर्थमा ‘आरोग्य पार्क’ निर्माण हुने भएको छ ।

परियोजना सेवाका लागि संयुक्त राष्ट्र कार्यालय (यूएनवप्स) र चन्द्रागिरि नगरपालिकाले मातातिर्थस्थित कन्चनवस्ती क्षेत्रमा निर्माण हुने पार्कको प्रारम्भिक डिजाइनको सार्वजनिक प्रदर्शनी आयोजना गरेका छन् ।

मातातिर्थस्थित वडा कार्यालय क्षेत्रमा आइतबारबाट सुरु भएको प्रदर्शनीमा सोमबार पनि जारी रहने यूएनवप्सकी कार्यक्रम अधिकृत वर्षा श्रेष्ठले जानकारी दिइन् ।

परियोजना सेवाका लागि संयुक्त राष्ट्र कार्यालय (यूएनवप्स)ले देशका विभिन्न पाँच शहरमा विविन्न संरचना निर्माणमा स्थानीय तहहरूलाई प्राविधिक सहयोग एवं परामर्श उपलब्ध गराउँदै आएको छ ।

महिला मैत्री शहर परियोजना (सिटिज फोर वुमन) अन्तर्गत यूएनवप्सले नेपालमा कार्यक्रम सञ्चालन गरिरहेको हो । जसका लागि युरोपेली यूनियन, अमेरिकी अन्तराष्ट्रिय विकास सहयोग (यूएस एड) ले वित्तीय सहयोग उपलब्ध गराएका हुन् ।

जसअनुसार बागमती प्रदेशमा चन्द्रागिरि नगरमा यूएनवप्सले नगरसँगको सहकार्यमा भाैतिक संरचना निर्माणमा सहकार्य गर्ने भएको हो ।

यूएनवप्सको सहयोगमा चन्द्रागिरि-१२ बलम्बुस्थित पिंग पार्क, चन्द्रागिरि-१५ स्थित विष्णुदेवीमा विष्णुदेवी पार्क र चन्द्रागिरि-८ मातातिर्थमा आरोग्य पार्क निर्माणका लागि विभिन्न कार्ययोजनासहित डीपीआरको कार्य भइरहेको छ ।

आइतबार मातातिर्थमा कन्चनवस्ती क्षेत्रमा निर्माण हुने आरोग्य पार्कको विभिन्न डिजाइनहरू सार्वजनिक गरिएका छन् । यूएनवप्सका अनुसार सो पार्क निर्माणका लागि प्राविधिकहरूबाट डिजाइनको प्रस्ताव आह्वान गरिएकोमा १५ जनाले प्रस्ताव पेश गरेका छन् । ती सबै प्रस्ताव (डिजाइन) प्रदर्शनीमा राखिएका छन्।

आरोग्य पार्क निर्माणका लागि प्रस्ताव पेश गरेका मध्ये अनिल आचार्य र उजन मानन्धरले डिजाइन गरेको डिजाइनले पहिलो स्थान प्राप्त गरेको छ । (हेराैं फोटो)

प्रदर्शनीमा आगन्तुकहरुको सल्लाह र सुझाव अनुसार पार्क बन्ने यूएनवप्सका प्रतिनिधिहरूको भनाइ छ । जसमा चन्द्रागिरि नगरबाट समेत बजेट साझेदारी हुनेछ ।

खुल्ला स्थानमा निर्माण हुने पार्क लगायतका संरचनाहरूलाई समावेशी, महिला, ज्येष्ठ नागरिक, बालबालिका मैत्री बनाउन सकिन्छ भन्ने सन्दर्भमा यूएनवप्सले स्थानीय तहहरूसँग समन्वय गरिरहेको छ ।

सो संस्थाले चन्द्रागिरिका अतिरिक्त सुनवल नगर, तानसेन नगर, धनगढी उपमहानगर र वीरेन्द्रनगर नगरपालिकामा समेत परियोजना सञ्चालन गरिरहेको छ ।

पार्कको डिजाइन प्रदर्शनी कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले विकास निर्माणमा योजना चयन तथा कार्यान्वयनमा जानुअघि पूर्व तयारी तथा सम्बन्धित लाभग्राहीहरूसँग सहकार्य, विचार विमर्श र छलफल गर्न सकिने हो भने विकास निर्माणमा बाधा अवरोध नआउने धारणा राखे ।

सो क्रममा आरोग्य पार्कका विभिन्न डिजाइनहरू यूएनवप्सका तर्फबाट नगरप्रमुखलाई हस्तान्तरण गरिएको थियो ।

पार्कको डिजाइन हस्तान्तरण तथा प्रदर्शनी कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरपालिका उपप्रमुख बसन्ती श्रेष्ठले खुल्ला स्थानको संरक्षण गर्न वडाबासीलाई आग्रह गर्दै संरचना निर्माण बालमैत्री, अपाङ्गता मैत्री, महिलामैत्री हुनुपर्ने बताइन् ।

मातातिर्थस्थित कञ्चन बस्तीको सार्वजनिक जग्गा व्यक्तिगत अतिक्रमणमा परेकोले सो स्थानमा पार्क बनाउने अवस्थासम्म पुर्याउन निकै संघर्ष गर्नुपरेको सुनाउँदै चन्द्रागिरि-८ का वडाध्यक्ष रिजालले निर्माण भइसकेपछि पार्कको व्यवस्थापन खर्चिलो हुने भएको माटो सुहाउँदो, स्थानीयको चाहना अनुसार संरचना निर्माण होस भने वडाबासीको चाहना रहेको बताए ।

सो प्रदर्शनीमा सुनवल नगर, तानसेन नगर, धनगढी उपमहानगर र वीरेन्द्रनगर नगरपालिकामा निर्माण हुने संरचनाहरूको डिजाइन समेत समावेश गरिएका छन् ।

जसअनुसार तानसेनमा कुडपानी पार्क, वीरेन्द्रनगरमा घण्टाघर पार्क, धनगढीमा कर्णाली नदी कोरिडोर पार्क र सुनवलमा सोमनाथ हाटबजार निर्माणका डिजाइन समावेश गरिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ