स्वीस सरकारको सहयोगमा थानकोट-चित्लाङ सुरुङमार्ग सम्भाव्यता अध्ययन जारी

Thankot Times

थानकोट । 

नेपाल टनेलिङ एशोसिएशनका अनुसार हालसम्म नेपालमा करिब ४१६ किलोमिटर सुरुङ बनिसकेको छ, जसमा ३५० किलोमिटर हाइड्रोपावर सुरुङ, २७ किमी खानेपानी वितरण सुरुङ, २५ किमी सिँचाइ सुरुङ, ११ किमी सडक सुरुङ, ५२२ मिटर ढल निकास सुरुङ, दुई किमी खानी सुरुङ र ०.३ किमी म्युजियम सुरुङ गरी जम्मा ९ किसिमका छन् । रेल सुरुङमार्गको निर्माण भने नेपालमा भएको छैन् ।

यस्तै, ३०० किमी हाइड्रोपावर सुरुङ, ३ किमी सिँचाइ सुरुङ र सडक १० किमी सडक सुरुङ गरी जम्मा ३१३ किमी हाल निर्माणाधीन चरणमा छन् ।

नेपालमा सुरुङको प्रयोग सबैभन्दा बढी जलविद्युत परियोजनामा भएको पाइन्छ ।

नेपालमा खानेपानीका लागि बनेको पहिलो सुरुङ भनेकै मेलम्ची खानेपानीको हो । सिन्धुपाल्चोकको अम्बाथानदेखि काठमाडौंको सुन्दरीजलसम्म २७ किमी सुरुङ खनेर मेलम्चीको पानी राजधानीमा वितरण हुँदै आएको छ ।

हालसम्म खनिएको सुरुङमध्ये यो नै सबैभन्दा लामो सुरुङ हो । २०७४ को चैत २९ गते ब्रेक-थ्रु भएको यो सुरुङ खन्न करिब १० वर्ष लागेको थियो ।

यस्तै, नेपालमा पहिलोपटक आधुनिक प्रविधिको प्रयोगबाट बनेको सुरुङ भने भेरी–बबई डाइभर्सन सुरुङ हो । यसमा अमेरिकन प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग भएको थियो । जसमार्फत् अपेक्षित समय अगावै सुरुङ छेड्ने काम सकिएको थियो । १२.२ किलोमिटरको यो सुरुङ मुख्य रूपमा सिँचाइका लागि प्रयोग गर्न बनाइएको थियो ।

नेपालमा सम्भाव्यता अध्ययनमा परेका सुरुङमार्गको अध्ययन जारी छ ।

जसमा काठमाडौं-कुलेखानी-भीमफेदी-हेटौंडा सुरुङमार्ग, टोखा-छहरे सुरुङमार्ग, सूर्यविनायक-धुलिखेल सुरुङमार्ग, थानकोट-चित्लाङ सुरुङमार्ग, सेती राजमार्गअन्तर्गतको खुटिया-दिपायल, सिन्धुलीको चियाबारी, गोदावरी कुण्ड-मानेचौरमा समेत सुरुङ निर्माणका लागि सडक विभागले पूर्व सम्भाव्यता अध्ययन कार्य अगाडि बढाएको छ ।

थानकोटदेखि मकवानपुरको चित्लाङसम्म सुरुङमार्ग निर्माणका लागि पनि अध्ययन कार्य सुरु भइसकेको छ । स्वीस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा यो सुरुङमार्गको अध्ययन भइरहेको हो । 

विकास न्यूजबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *