काठमाडौं महानगरपालिकाले कलंकीचोक लगायत १८ ठाउँमा वायु गुणस्तर मापन उपकरण राख्दै

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाले विभिन्न १८ ठाउँमा वायु गुणस्तर मापन उपकरण राख्न सुरु गरेको छ ।

काठमाडौं उपत्यकामा अहिले संघीय सरकारको वातावरण विभागमार्फत जडान भएका वायु गुणस्तर मापन उपकरणबाट प्रदूषणबारे जानकारी प्राप्त हुँदै आएको छ ।

अब भने महानगर आफैँले पनि उपकरण जडान गर्न थालेको हो ।

१८ स्थानमध्ये सोमबार महानगरको कार्यालय काठमाडौं प्लाजामै पहिलो उपकरण राखिएको छ । ‘पार्टनरसिप फर हेल्दी सिटिज पहल’को सहकार्यमा राखिएको यो उपकरणको उपमेयर सुनिता डंगोलले उद्घाटन गरेकी छिन् । ‘यो काठमाडौंमा वायु प्रदूषण घटाउनतर्फको महत्वपूर्ण यात्राको सुरुवात हो,’ उनले भनिन्, ‘काठमाडौं महानगरले पछिल्ला समय गर्दै आएको ‘कार फ्री स्याटर्डे’, ‘स्रोतमा नै फोहोरको वर्गीकरण’, विद्यालयलक्षित वातावरण र बालबालिका (बाबा) क्लबको सुरुवात, धुलोरहित महानगर स्वर्णिम योजना तथा विभिन्न पछिल्ला गतिविधिले महानगर वायु प्रदूूषण न्यूनीकरणमा सदैव प्रतिबद्ध रहिआएको छ । पुस महिनालाई ‘वायु प्रदूषण सचेतना महिना’को रूपमा मनाउने घोषणा पनि उनले गरिन् ।

उपमेयर डंगोलले वास्तविक समयको डेटा प्रयोग गरी सूचित नीति बनाउन र स्वस्थ वातावरण सुनिश्चित गर्न महानगर प्रतिबद्ध रहेको बताइन् ।

वायु गुणस्तर मापनका लागि महानगरका १८ स्थानमा उपकरण राख्ने वातावरण विभागका प्रमुख सरिता राईले बताइन् । यी उपकरणमार्फत वायुमा रहेको पिएम २.५ को वास्तविक समयको डाटा प्राप्त हुनेछ । पिएम २.५ भनेको वायुमण्डलमा पाइने साना कण हुन्, जसले फोक्सो र रक्तप्रवाहमा गहिरो असर गर्न सक्छन् । यसले श्वासप्रश्वास र हृदयसम्बन्धी रोग उत्पन्न गराउनुका साथै दम, एलर्जी र फोक्सोको क्यान्सरजस्ता समस्या निम्त्याउँछ । विशेषगरी बालबालिका, वृद्धवृद्धा र पहिल्यै रोग भएका व्यक्ति यसबाट बढी प्रभावित हुन्छन् ।

यी उपकरण सौर्य ऊर्जाबाट चल्ने र इनबिल्ट डेटा कनेक्टिभिटीसहित र वास्तविक समयको डेटा महानगरको केन्द्रीय ड्यासबोर्डमा पठाउने उनले बताइन् । ‘पार्टनरसिप फर हेल्दी सिटिज पहल’ परियोजना प्रमुख इन्जिनियर सञ्जीव पाण्डेले मापन उपकरणबाट प्राप्त हुने तथ्यांक वेबपोर्टल र एपमार्फत हेर्न सकिने बताए । ‘काठमाडौंमा वायु गुणस्तर मापन उपकरण सीमित छन् । हामीले १८ ठाउँमा जडान गर्दै छौँ । यसले कुन ठाउँको वायुको गुणस्तरको अवस्था कस्तो छ भनेर थाहा हुनेछ भने वायु प्रदूषण नियन्त्रणका लागि कदम चाल्न मद्दत पुग्नेछ,’ पाण्डेले भने ।

विश्व स्वास्थ्य संगठन नेपालका राष्ट्रिय कार्यक्रम अधिकृत राजाराम श्रेष्ठले वायु प्रदूषणबाट हुने स्वास्थ्य जोखिम साइलेन्ट किलरका रूपमा रहेको भन्दै यसको न्यूनीकरणमा सबै स्थानीय सरकार अग्रसर हुनुपर्ने बताए ।

यी स्थानमा जडान हुँदै छन् उपकरण
महानगरले कमलादीस्थित काठमाडौं महानगरपालिका कार्यालयमा वायु गुणस्तर मापन उपकरण जडान गरिसकेको छ । अब क्षेत्रपाटी निःशुल्क चिकित्सालय, लैनचौरस्थित शान्ति विद्यागृह मावि, कलंकी चोक र बालाजु बाइसधारा उद्यानमा उपकरण जडान गरिने महानगरले जनाएको छ ।

यस्तै, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नयाँ बसपार्कस्थित महानगर प्रहरी बलको कार्यालय, ठुलो भर्‍याङ, बौद्ध विकास क्षेत्र, मध्यबानेश्वरस्थित रत्नराज्य मावि, टेकु ट्रान्सफर स्टेसन, महानगरको वडा नम्बर ५, २३, २७ र ३१ को कार्यालय, चाबहिलमा रहेको पशुपति मित्र मावि, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा पनि उपकरण जडान गरिने जनाइएको छ । सबै क्षेत्रमा एक साताभित्र उपकरण जडान भइसक्ने महानगरले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *