चन्द्रागिरिका जनप्रतिनिधि र युनिसेफका प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम
थानकोट ।
चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिहरू र संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ)का प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार चन्द्रागिरि नगरपालिकामा सो अन्तरक्रिया कार्यक्रम आयोजना भएको नगरप्रमुखको सचिवालयलले जनाएको छ।
सो अन्तरक्रिया चन्द्रागिरि नगरपालिकाले संचालन गरिरहेको घर दैलो सामुदायिक नर्स सेवा र महिला सामुदायिक स्वास्थ्य स्वयं सेविका सेवालाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको बुझिएको छ ।
कार्यक्रममा चन्द्रागिरि नगरका तर्फबाट नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, सामाजिक विकास संयोजक घनश्याम लुँइटेल, नगरको स्वास्थ्य सेवा शाखाका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाइ राख्दै नगरप्रमुख गिरीले सामुदायिक नर्स र स्वास्थ्य स्वयं सेविका सेवालाई नगरपालिकाले अझ प्रभावकारी रूपमा अगाडि बढाउदै लैजाने जानकारी गराएका थिए । सो क्रममा युनिसेफ नेपालका प्रतिनिधिहरुले स्वास्थ्यका विभिन्न क्षेत्रमा नगरपालिकालाई सहयोग र सहकार्य रहने कुराको प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ ।
चन्द्रागिरि नगरमा संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रम (यूएन हेबिटेट) ले विशेष अध्ययन अनुसन्धान गरिरहेको छ भने संयुक्त राष्ट्रका विभिन्न निकायहरूले चन्द्रागिरि नगरमा हुने विकास निर्माण तथा नीति निर्माण तहमा सहभागिता जनाउँदै आएका छन् ।