नेपाल प्रिमियर लिग क्रिकेटमा जनकपुरको लगातार चाैथो जित, लुम्बिनीको लगातार चाैथो हार

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्स विजयी भएको छ ।

लुम्बिनी लायन्सलाई एक रनले हराउँदै जनकपुरले जारी प्रतियोगितामा आफ्नो विजयी यात्रा कायम गरेको हो ।

लुम्बिनीको यो चौथो हार हो । जारी प्रतियोगितामा लुम्बिनी जितविहीन छ ।

जनकपुरको भने यो लगातार चौथो जित हो ।

टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले लुम्बिनीसामु जितका लागि १३७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जनकपुरका लागि कप्तान अनिल साहले ४५ रन बनाए । यस्तै लहिरु मिलान्थाले २४ तथा आशिफ शेखले १६ रन बनाए ।

शुभ कंसकारले २२ रनको पारी खेले । निर्धारित २० ओभरमा जनकपुरले नौ विकेट गुमाएर १३६ रन बनायो । उत्कृष्ट सुरूआत गरे पनि मध्यक्रम नचल्दा जनकपुरले ठूलो योगफल बनाउन सकेको थिएन । तर जनकपुरले बलिङमा उम्दा प्रदर्शन गर्दा खेलको नतिजा आफ्नो पक्षमा पार्‍यो ।

बलिङतर्फ लुम्बिनीका डेब्यु खेलाडी अभिशेष गौतमले तीन विकेट लिए ।

उनले १३औं ओभरमा लाहिरु मिलान्थालाई २४, हर्ष थाकरलाई एक र जिम्मी नीशमलाई पनि एकै रनमा आउट गरे । कप्तान रोहित पौडेल र साद विन जाफरले समान दुई विकेट लिए ।

प्रतियोगिता अन्तर्गत आज दिउँसो १ः१५ बजे चितवन र सुदूरपश्चिमबीच खेल हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *