सात गाउँले जात्रा सञ्चालन हुने चन्द्रागिरि नगरका विभिन्न सात वडामा सार्वजनिक बिदा
थानकोट ।
सात गाउँले जात्राको तयारी चन्द्रागिरि नगरका विभिन्न वडाहरूमा तिव्र बनाइएको छ ।
चन्द्रागिरि नगरका वडा नंं ८ मातातिर्थस्थित लंकोट, वडा नं. ९ मच्छेगाँउ, वडा नं. १० र ११ सतुङ्गलमा सालिन्दा सात गाउँले जात्रा मनाउने परम्परा छ ।
यसैगरी, चन्द्रागिरि १३ पुरानो नैकाप, चन्द्रागिरि १४ नयाँ नैकाप एवं चन्द्रागिरि १५ तीनथानामा समेत सात गाउँले जात्रा मनाउने गरिन्छ ।
यसवर्ष मंसिर २५ गते सात गाउँले जात्रा अन्तर्गत विष्णुदेवीको रथ यात्रा हुँदैछ ।
यसैबीच चन्द्रागिरि नगरपालिकाले सात गाउँले जात्रा सञ्चालन हुने वडाहरूमा सार्वजनिक बिदाको निर्णय गरेको छ ।
जसअनुसार चन्द्रागिरि ८, ९, १३, १४ र १५ मा मंसीर २५ गते मंगलबार सार्वजनिक बिदा दिइएको छ। यस्तै, मंसीर २५ र २७ गते वडा नं. १० र ११ सतुङ्गलमा चन्द्रागिरि नगरपालिका कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको शाखा अधिकृत दामोदर रिजालले जानकारी दिए ।