मःम पारखीहरूका लागि दुःखद खबर, काठमाडौंमा मःम बेच्ने ८५ मध्ये ७५ वटा पसल ‘फोहोरी’

Thankot Times

थानकोट।

काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका मःम पसलका कार्यस्थल, भान्छा र व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा समस्या भेटिएको छ।

गएको कार्तिक २९ गतेदेखि महानगरपालिकाका फुड टेक्नोलोजिष्ट, माइक्रोवायोलोजिष्ट सहितको टोलीले अहिलेसम्म अनगुमन गरेका ८५ वटा मःम बनाउने होटल तथा रेष्टुरेन्टमध्ये ७५ वटा (८८.२४%) मा सरसफाइ मुख्य समस्या देखिएको ‘अनुगमन प्रतिवेदन’ मा उल्लेख छ। यससँगै ६६ वटा (७७.६५%) प्रतिशतमा भान्छा र कार्यस्थलको सरसफाइमा कमजोरी छ। 

सुन्धारा, न्युरोड,मखन, त्यौड,  कमलपोखरी लगायतको क्षेत्रमा महानगरले अनुगमन गरेको हो। उनीहरुले दैनिक रुपमा प्रयोग गर्ने एप्रोनसमेत फोहर रहेको महानगरले जनाएको छ। ‘भान्छामा लगाउने वा होटलमा लगाउने एप्रोन बाहिर पनि लगाउने गरेका छन्। मसला राख्ने भाँडा फोहर छ। भान्छाको भुइँमा पानी जमेर फोहर छ। डस्टबिनको उचित प्रयोग भएको छैन। पकाएका खानेकुरा खुला राख्ने गरिएको छ। मांसाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने गरिएको छ। पकाएको र नपकाएका खानेकुरा पनि सँगसँगै राखिएको छ। किराको समस्या समाधान गर्न आफैँ रसायनको प्रयोग गर्ने गरिएको पाइएको छ।’महानगरबाट जारी गरिएको प्रेस नोटमा भनिएको छ, ‘फ्रिज सफाइ गरिएको छैन। फ्रिजमा अटुञ्जेल सामान कोचेर राखिएको छ। त्यहाँ राखिएको अचार र मसलामा लेवल राखिएको छैन। मसला राख्ने भाँडा, मःम बनाउने टेवल र मेसिन फोहर छ। भाँडा माझ्ने ठाउँ झन् फोहर छ।’

महानगरको अनुगमन टोलीले स्थलगतरुपमै निर्देशन र सुझाव दिएको जनाएको छ। सरसफाइ र स्वच्छतामा कमजोरी देखिएका पसलहरुलाई सुधारका लागि निर्देशन दिइएको महानगरले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *