आइतबार र सोमबार वर्षा तथा हिमपातको सम्भावना, चिसो बढ्ने
थानकोट ।
भोलि आइतबार र पर्सि सोमबार वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण भोलि बेलुकीदेखि देशका धेरै ठाउँमा मौसम बदली भई दुई दिनसम्म वर्षा र हिमपात हुने सम्भावना देखिएको छ ।
महाशाखाले हिउँदे मौसमको विशेष बुलेटिन निकालेर भोलि बेलुकीदेखि पर्सि सोमवार रातिसम्म सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै ठाउँमा तथा बाग्मती प्रदेश र कोशी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको जनाएको छ ।
यस्तै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँ तथा गण्डकी प्रदेश, बाग्मती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।
वर्षा र हिमपातका कारण तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ । यस अवधिमा वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले भोलि र पर्सि पहिलो हिउँदे वर्षा हुने अनुमान गरिरहँदा हिजोदेखि नै मौसम आंशिक बदली भएको छ । तराईका धेरै ठाउँमा हुस्सु लागेको छ ।