चन्द्रागिरि नगरमा मनाइयो २१औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस
थानकोट ।
२१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस देशभर बिहीबार विविध कार्यक्रमका साथ मनाइएको छ ।
दिवसका अवसरमा चन्द्रागिरि नगरपालिकामा स्वयंसेविकाहरूलाई सम्मान गरिएको छ ।
नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरहरुबासीको स्वास्थ्य अवस्था सुधारका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरुले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेका छन् ।
२१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख गिरीले नगरपालिकाले स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप नगरकै श्रोतबाट गत आर्थिक वर्षदेखि मासिक ३ हजार रुपैयाँ उपलब्ध गराइँदै आएको र आगामी दिनमा यसलाई थप परिमार्जित र परिष्कृत गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सो कार्यक्रममा सहभागी भएका स्वयंसेविकाहरुले आफुहरुका लागि नगरपालिकाले उपलब्ध गराउँदै आएको दैनिक भत्ता ४ सय रुपैयाँ भत्ता दोब्बर गरिदिन सरोकारवाला निकायमा आवाज पुर्याइदिन नगरप्रमुखलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा ६० वर्ष उमेर पुगेका तीनजना स्वयंसेविकालाई नगरप्रमुख गिरीले दोसल्ला ओढाई सम्मानसहित बिदाई गरे भने बिदा भएका स्वयंसेविकाहरूले सेवा गरेको अवधिका आधारमा १ लाख देखी १ लाख २५ हजार रुपैयाँ सम्म प्रोत्साहन रकम प्राप्त गरेका थिए ।
कार्यक्रमका दाैरान क्रममा ६० वर्ष उमेर पूरा भएका स्वास्थ्य स्वयंसेविकाहरू वडा नं २ मा सेवारत जल कुमारी तामाङ , वडा नं ८ मा सेवारत उर्मिला रिजा र वडा नं ९ मा सेवारत कृष्णकुमारी श्रेष्ठलाई सम्मानसहित बिदाई गरिएको नगरका स्वास्थ्य शाखाप्रमुख शम्भूकुमार महतोले जानकारी दिए ।
चन्द्रागिरि नगरका सबै १५ वटै वडामा गरी जम्मा १४९ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सेवारत छन् ।
बिहीबार आयोजित कार्यक्रममा चन्द्रागिरि नगरका विभिन्न स्वास्थ्य संस्थाबाट सिफारिस भएका १६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई समेत विशेष सम्मान गरिएको थियाे ।
अन्तरार्ष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ का दिन नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाउने गरिन्छ ।
यस वर्ष ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ बिहीबार यो दिवस देशैभर मनाइएको हो ।
महिला स्वास्थ्य स्वयंसेविका मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पुर्याउने उद्देश्यले वि.सं २०४५ सालदेखि यो कार्यक्रम सुरु भएको हो।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले स्थानीय तहको स्वास्थ्य शाखासँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा दिने गर्दछन् ।
सम्बन्धित वडामा रहेका स्वास्थ्य संस्थासँगको समन्वयमा उनीहरूले जिम्मेवारी पूरा गर्दै आएका छन् ।