महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस: चन्द्रागिरि नगरमा कति छन स्वास्थ्य स्वयंसेविका ?

Thankot Times

थानकोट ।

अन्तरार्ष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा हरेक वर्ष डिसेम्बर ५ का दिन नेपालमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाउने गरिन्छ ।

यस वर्ष ‘विविध स्वास्थ्य क्रियाकलापहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ आज यो दिवस देशैभर मनाइँदैछ ।

सरकारी तथ्यांक अनुसार नेपालमा गाउँपालिका र नगरपालिकाका हरेक वडामा कम्तीमा एकजना महिला स्वास्थ्य स्वयंसेविका गरी जम्मा करिब ५२ हजार महिला स्वंयमसेविका कार्यरत छन् । 

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम अन्तर्गत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले सामुदायिक स्वास्थ्यमा योगदान पुर्‍याउँदै आएका छन्।

विशेषतः  मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार योजना, आदि विषयमा समुदायमा जनचेतना अभिवृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफलमार्फत जनस्वास्थ्य सम्बन्धी सुचना तथा सेवाहरुको पहुँचमा वृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन उनीहरुले काम गर्दै आएका छन्।

दिवसको अवसरमा सरकारले उल्लेखनीय योगदान पुर्‍याएका उत्कृष्ट स्वयंसेविकालाई सम्मान गर्दछ ।

महिला स्वास्थ्य स्वयंसेविका मातृ शिशु तथा परिवार योजना कार्यक्रम जनताको घरदैलो सम्म पुर्‍याउने उद्देश्यले वि.सं २०४५ सालदेखि यो कार्यक्रम सुरु भएको हो।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूले स्थानीय तहको स्वास्थ्य शाखासँग प्रत्यक्ष सम्पर्कमा रहेर सेवा दिने गर्दछन् । 

सम्बन्धित वडामा रहेका स्वास्थ्य संस्थासँगको समन्वयमा उनीहरूले जिम्मेवारी पूरा गर्दै आएका छन् ।

चन्द्रागिरि नगरमा कति छन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका ? 

२१औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस अवसरमा चन्द्रागिरि नगरपालिकामा पनि बिहीबार एक कार्यक्रम संयोजन गरिएको छ ।

सो क्रममा चन्द्रागिरि नगरपालिकामा कार्यरत महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सम्मान गरिएको छ ।

चन्द्रागिरि नगर स्वास्थ्य शाखाका अनुसार नगरक्षेत्रमा १४९ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । उनीहरू मध्ये ६० वर्ष उमेर पूरा गरेका स्वयंसेविका अनिवार्य अवकाश पाउने गरेका छन्।

जसअनुसार यसवर्ष चन्द्रागिरि नगरबाट ३ जना स्वयंसेविकाले बिदा पाउँदैछन् ।

नगरपालिकाबाट ती स्वयंसेविकाले पुर्याएको योगदान (सेवावधि) का आधारमा कम्तीमा १ लाख रुपैयाँ प्रोत्साहन रकम पाउने गरेका छन् । 

नगरप्रमुख घनश्याम गिरी तथा उपप्रमुख बसन्ती श्रेष्ठ, नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, चन्द्रागिरि नगरपालिका सामाजिक विकास संयोजक एवं चन्द्रागिरि नगरपालिका १५ का वडाध्यक्ष घनश्याम लुँइटेल लगायतको उपस्थितिमा नगरको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सम्मान तथा अवकाश पाउने स्वयंसेवीकाहरूको बिदाइ गरे।

साे क्रममा सम्बन्धित स्वास्थ्य संस्थाबाट सिफारिस भएका १६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सम्मान गरिएको थियाे । 

कार्यक्रमका दाैरान क्रममा ६० वर्ष उमेर पूरा भएका स्वास्थ्य स्वयंसेविकाहरू वडा नं २ मा सेवारत जल कुमारी तामाङ , वडा नं  ८ मा सेवारत उर्मिला रिजा र वडा नं ९ मा सेवारत कृष्णकुमारी श्रेष्ठलाई सम्मानसहित बिदाई गरिएको नगरका स्वास्थ्य शाखाप्रमुख शम्भूकुमार महतोले जानकारी दिए । 

चन्द्रागिरि नगरका सबै १५ वटै वडामा गरी जम्मा १४९ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सेवारत छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *