नवनिर्वाचित मेयर र वडाध्यक्षलाई बधाई दिन कीर्तिपुरमा नेपाली काँग्रेस सभापति देउवा
थानकोट ।
मंसिर १६ मा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा विजयी भएका पार्टीका उम्मेदवारहरूलाई बधाई दिन नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुर आएका छन् ।
बुधबार साँझ सभापति देउवा कीर्तिपुर नगरपालिका-०६ चोभार आएका हुन् ।
सो क्रममा कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, राष्ट्रिय सभा सदस्य जितजंग बस्नेत, बागमती प्रदेश सभा सदस्यहरू पुकार महर्जन, यमुनादेवी श्रेष्ठ लगायत नेपाली काँग्रेस सम्बद्ध नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो ।
नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिन संघीय सांसद् राजन कुमार केसीको निवासमा संयोजित उक्त कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेस पार्टी स्थानीय तहको उपनिर्वाचनमा पाएको जनमतको कदर गर्न जनप्रतिनिधिहरूलाई निर्देश दिए । उनले कीर्तिपुरमा नेपाली काँग्रेसको उपस्थिति थप मजबुद भएको भन्दै २०८४ को निर्वाचनमा पार्टीको साख कायम राख्नुपर्नेमा जोड दिए ।
यसैगरी काँगेस सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा नेपाली काँग्रेसले समग्रमा राम्रो नतिजा ल्याएको देखिएपनि प्राविधिक रुपमा पार्टीले मत गुमाएको धारणा राखे ।
आफ्नै निवासमा आयोजित शुभकामना कार्यक्रममा बोल्दै सांसद् राजेन्द्रकुमार केसीले दिवंगत मेयर राजकुमार नकर्मीको सपना साकार पार्न कीर्तिपुरका मतदाताले पुन नेपाली काँग्रेसका उम्मेदवाहरू माथि विश्वास गरेको धारणा राखे ।
हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयर कृष्णमान डंगोल विजयी हुँदा कीर्तिपुर वडा नं. १ र ४ को वडाध्यक्षमा सोही पार्टीबाट क्रमश इच्छा महर्जन र राजेन्द्र बानियाँ निर्वाचित भएका थिए ।