उपनिर्वाचनः कीर्तिपुरका मेयर र वडाध्यक्षले पाए निर्वाचित भएको प्रमाणपत्र, सपथ कहिले ?

Thankot Times

थानकोट । 

मंसिर १६ को उपनिर्वाचनमा विजयी भएका कीर्तिपुर नगरका मेयर कृष्णमान डंगोलले निर्वाचित भएको प्रमाणपत्र पाएका छन् । 

मंगलबार कीर्तिपुर नगरपालिकाको सभाहलमा काठमाडाैंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको उपस्थितिमा निर्वाचन अधिकृत इन्दिरा कार्कीले नवनिर्वाचित मेयर डंगोल तथा कीर्तिपुर वडा नं. १ का वडाध्यक्ष इच्छा महर्जन र वडा नं. ४ का वडाध्यक्ष राजेन्द्र बानियालाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरेकी हुन् ।

सो क्रममा काठमाडाैं प्रहरी परिसर प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक बसन्त रजाैरेको समेत उपस्थिति रहेको थियो ।

कीर्तिपुर नगरका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कीर्तिपुरबासीहरूको अपेक्षा अनुसार कार्य गर्न अनुरोध गरे ।

मेयर साब भन्ने शब्दावली प्रयोग नहोस भन्दै  प्रजिअ आचार्यले जनताको छोरो, जनताको सेवक भइ कार्य गर्न प्रेरित हुनुपर्ने धारणा राखे ।

यसैगरी नवनिर्वाचित मेयर कृष्णमान डंगोलले जनताको विश्वास जित्ने गरी कार्य गर्ने प्रतिक्रिया दिए । उनले पहिलो निर्णय विष्णुदेवी अस्पताल सुधारका लागि हुने बताए ।   

प्रमाणपत्र पाएपनि मेयर र वडाध्यक्षको सपथ अझै हुन सकेको छैन् ।

मेयर डंगोलले जिल्ला समन्वय समितिमा सपथ लिएपछि नवनिर्वाचित वडाध्यक्षहरूलाई सपथ गराउनेछन् । मेयर डंगोलले बुधबार बिहान सपथ लिने बुझिएको छ ।

सबै तस्बिरः दुर्गालाल शाही


Leave a Reply

Your email address will not be published. Required fields are marked *