नेपाल प्रिमियर लिग: सूदूरपश्चिमको सहज जित, विराटनगरको लगातार दोस्रो हार

Thankot Times

थानकोट ।

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को आफ्नो पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको सहज जित निकालेको छ ।

कप्तान दीपेन्द्रसिह ऐरी अर्धशतकमा सुदूरपश्चिमले सहज जित निकालेको हो ।

प्रतियोगितामा विराटनगरको भने यो लगातार दोस्रो हार हो । विराटनगर यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध आठ विकेटले पराजित भएको थियो ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १८३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १६.१ ओभरमा ९२ रनमै समेटियो । योसँगै सुदूरपश्चिम पहिले ब्याटिङ गरेर जित निकाल्ने पहिलो टिम बन्यो । प्रतियोगिताको यसअघिका तीनै खेलमा लक्ष्य पछ्याउने टिमले जित निकालेका थिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८२ रन बनाएको थियो । यो जारी प्रतियोगिताकै सबैभन्दा ठूलो योगफल हो । यसअघि सोमबारको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध १४१ रन बनाउनु नै हालसम्मको ठूलो योगफल थियो ।

सुदूरपश्चिमका कप्तान ऐरीले ५७ रन बनाए ।

आक्रामक रूपमा प्रस्तुत भएका उनले २४ बलमा तीन चौका र पाँच छक्का प्रहार गरे । योसँगै दीपेन्द्र जारी प्रतियोगितामा अर्धशतक बनाउने चौथो ब्याटर बने । यसअघि जनकपुरका दुई ब्याटर लहिरु मिलान्था र अनिल शाहसँगै विराटनगरकै मार्टिन गप्टिलले अर्धशतक बनाएका थिए ।

प्रतियोगितामा सुदूरपश्चिमको यो पहिलो खेल हो ।

जितसँगै सुदूरपश्चिमले दुई अंक जोड्दा विराटनगर भने अंकविहीन छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *