चन्द्रागिरिमा आजबाट राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता, ४२ विद्यालयका विद्यार्थी सहभागी हुने
थानकोट ।
चन्द्रागिरि नगरपालिकामा आज मंसिर १७ गतेबाट पाँचाैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु हुँदैछ ।
प्रतियोगितामा ४२ विद्यालयका १ हजार सात सय ६४ विद्यार्थीले सहभागिता जनाउने बताइएको छ ।
तीन दिने प्रतियोगितामा १०६३ जना छात्र र ७०१ जना छात्राले मार्सल आर्टस्, भलिबल, ट्य्राक एण्ड फिल्ड (एथ्लेटिक्स), कबड्डी खेल खेलका १७ वटा स्पर्धामा भाग लिने चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
प्रतियोगिताको उद्घाटन चन्द्रागिरि नगरपालिका नैकापस्थित नैकाप फुटबल मैदानमा बिहान १०ः३० बजे हुनेछ । प्रतियोगिता मंसिर १९ गते सम्पन्न हुने तालिका रहेको छ ।
प्रतियोगताको भलिबल खेल नैकापस्थित न्यू डायमण्ड यूथ स्पोर्टस् क्लबमा, कबड्डी खेलका स्पर्धाहरू नैकापस्थित ब्राइट फ्यूचर माविमा हुनेछन् ।
यस्तै मार्सल आर्टस् विधाका खेलहरू चन्द्रागिरि ५ दुरसञ्चारस्थित रिब्स माविमा हुनेछन् । ट्य्राक एण्ड फिल्डका खेलहरू नैकाप फुटबल मैदानमा हुने बताइएको छ ।
प्रतियोगितालाई मर्यादीत, निष्पक्ष र समावेशी गराउन सहभागी संस्थागत र सामुदायिक विद्यालयका सबै छात्राछात्राको जन्मदर्ता प्रमाणपत्र समेत मिहिन ढंगले अध्ययन गरिएको मेयर गिरीको भनाइ छ ।
विजेता विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पदक प्रदान प्रतियोगिताको विधागत विजयी विद्यालयलाई कप तथा सबै विधामा हासिल गरेको नतिजाका आधारमा सर्वोत्कृष्ठ विद्यालयलाई रनिङ्ग शिल्ड, कप र दोश्रो तथा तेस्रो सर्वोत्कृष्ठ विद्यालयलाई कप प्रदान गरिने प्रतियोगिताका लागि २५ लाख रूपैयाँ विनियोजन गरिएको छ ।
पाँचाैं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बारेमा जानकारी दिन डाकिएको पत्रकार सम्मेलनमा बोल्दै वडाध्यक्ष तथा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले विद्यालय स्तरबाट नै विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गरी भविष्य निर्माणका लागि सो खेलकुद प्रतियोगिता पहिलो आधार हुने धारणा राख्दै विद्यालयले कुन विद्यार्थीको चाहना कुन खेलमा छ भनेर चासो दिनुपर्नेमा जोड दिए ।
प्रतियोगिता सार्थकता तब हुन्छ जब चन्द्रागिरि नगरका विद्यालयका खेलाडीहरूले जिल्ला, प्रदेश, राष्ट्र तथा अन्तराष्ट्रिय जगतमा देशको शीर उचो हुन्छ भन्दै प्रवक्ता खड्गीले विद्यालयस्तरीय प्रतियोगिताका गतिविधि समावेश गर्न स्थानीय सञ्चारमाध्यमहरूले उचित स्थान दिनुपर्ने बताए ।
यसपटक सहभागी विद्यार्थीहरूका लागि १ लाख रुपैयाँ बराबरको दुर्घटना बीमाको व्यवस्था गरिएको छ ।
गत वर्ष आयोजित चाैथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता करिब १ हजार ३ सय ९२ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
चाैथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मातातिर्थस्थित ब्राइट होराइजन स्कुल प्रथम भएको थियो ।