राडार गनमा ९९ किलोमिटर प्रति घण्टाको रफ्तारमा हुँइकिएको मोटरसाइकल देखिएपछि…..
थानकोट ।
शुक्रबार ट्राफिक प्रहरीले ललितपुर महानगरपालिका–१५ चक्रपथ सडकस्थित बीएण्डबी अस्पताल नजिकैगरेको स्पिड चेकिङ स्थलमा दुर्घटना भएको छ ।
ट्राफिक प्रहरीले मोटरसाइकल रोक्दा मोटरसाइकल नियन्त्रण गर्न नसक्दा रेलिङमा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
सो क्रममा चालक गम्भीर घाइते भएका छन् ।
प्रदेश–३–०२ ००५ प २६४२ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा पछाडि सवार १६ वर्षीया स्नेहा बस्यालको मृत्यु भएको छ ।
तनहुँको भिमाद नगरपालिका–५ घर भएर पेप्सीकोला बस्ने बस्यालको उपचारको क्रममा बीएण्डबी अस्पतालमा मृत्यु भएको ललितपुरका एसएसपी शेखर खनालले बताए ।
शुक्रवार मध्यान्ह भएको दुर्घटनामा मोटरसाइकल चालक कागेश्वरी मनोहरा नगरपालिका–४ घर भएका २८ वर्षीय प्रत्युस थापा गम्भीर घाइते भएका छन् । उनको बीएण्डबी अस्पतालमा उपचार हुँदै छ । प्रत्युसको टाउकोमा चोट लागेको छ ।
ओभर स्पिडमा रहेको मोटरसाइकललाई राडार गनले सङ्केत गरेपछि ट्राफिकले रोक्न खोज्दा रेलिङमा ठोक्किएको थियो ।
प्रहरीका अनुसार चालकले मोटरसाइकल ९९ स्पिडमा हाँकेका थिए ।
मोटरसाइकलको ठक्करबाट ट्राफिक प्रहरी सहायक हवलदार जनक सिंह भाट घाइते भएका छन् ।
उनको नेपाल प्रहरी अस्पतालमा उपचार हुँदै छ ।